काठमाडौँ । थापाथली स्थित द ब्रिटिश कलेजले दुवई घुम्न लैजाने क्रममा छोराको रहस्यमय मृत्यु भएपछि महेन्द्र श्रेष्ठ परिवार छोराको मृत्युको छानबीनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आफ्नो एक मात्र छोरा गौरव श्रेष्ठको दुवई घुम्न गएका बेला अचानक मृत्यु भएको खबर पाएका उनीहरुले छोराको मृत्युबारे चित्त बुझ्दो जवाफको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

‘द ब्रिटिस कलेज’ थापाथलीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत सिराहका १९ वर्षिय गौरव श्रेष्ठ गत फागुन २ गते कलेजबाट शैक्षिक भ्रमणका लागि दुवई पुुगेका र घुम्ने क्रममा समुन्द्रमा डुबेर उनको मृत्यु भएको थियो ।

घुम्दै गरेका छोराको अचानक मृत्यु भएको खवरले बिछिप्त बनेका श्रेष्ठ परिवारले मृत्यु कसरी भयो बारेमा कलेजसंग चित्तबुझ्दो जवाफ माग गरेका थिए । तर कलेजका प्रिस्निपल रजेन कणेल अहिलेसम्म सम्पर्क नआएका उनीहरुको आरोप छ । ‘कलेजको जिम्मा लगाएर पठाएको छोरालाई सकुशल नेपाल ल्याउनु कलेजको जिम्मेवारी हो तर कलेज आफ्नोे जिम्मेवारीबाट पन्छिन खोज्दैछ ।’ मृतक गौरव श्रेष्ठका बुवा महेन्द्र श्रेष्ठले बताए ।
‘मेरो छोरालाई समुन्द्रमा पौडी खेल्नका लागि कलेजले किन प्रमिशन दियो, यहाँ केही गलत छ, यसको छानबीन हुनु पर्छ ।’ महेन्द्रले चित्त बुझ्दो जवाफ नआए आन्दोलन गर्ने र कलेजका बिरुद्धमा उजुरी समेत गर्ने चेतावनी दिएका छन् ।