दियोपोस्ट संवाददाता
धादिङ, १ चैत्र । जिल्ला अस्पताल धादिङको गम्भिर लापरबाहीले एक विरामीले मानसिक तनाव भोग्नु परेको छ ।
निलकण्ठ २ पाँनधारे बस्दै आएकी प्रनिशा रिमालको रगत जाँचको क्रममा हेपटाइटिस बि पोजेटिभ देखिएको भन्दै जिल्ला अस्पताल धादिङले तत्काल काठमाडौं जान सुझाव दिएको थियो । तर, काठमाडौंमा रगत परिक्षण गर्दा भने हेपाटाइटिस बि नेगेटिभ देखाएपछि उनी तनावमा परेकी हुन् ।
गत फागुन २३ गते जिल्ला अस्पताल धादिङले परिक्षण गरेको उनको रिपोर्टमा हेपाटाइटिस बि पोजेटिभ देखाएको छ । तर, त्यसको चार दिनपछि राजधानीको निकै अत्याधुनिक प्रविधि रहेको जे एण्ड जे क्लिनिकमा रगत परिक्षण गर्दा भने हेपाटाइटिस बि नेगेटिभ देखाएको छ ।
जिल्ला अस्पताल धादिङले उनको रगत हेपाटाइटिस बी पोजेटिभ देखाएको रिपोर्ट देखाएपछि उनी छाँगाबाट खसे जस्तै भएकी थिइन् । उपचारका लागि आर्थिक अवस्था कमजोर भएकी प्रनिशाले आफ्नो घरमा रहेको खसीलाई १३ हजारमा बेचेर काठमाडौं हानिएकी थिइन् ।
‘यो हेपाटाइटिस बि भनेको रगतबाट सर्ने गम्भिर प्रकृतिको रोग हो,’ एक चिकित्सक भन्छन्,‘यस्तो रोग लागेको विरामी बाँच्ने संभावना कम हुन्छ । यसरी कसैलाई यस्तो रोग नै नलागी लागेको छ भनेर रिपोर्ट नै दिनु गम्भिर लापरबाही हो । यसले मान्छेलाई डिप्रेशनमा पुर्याउँछ ।’
मेसिनमा इरर देखियो : अध्यक्ष धमला
जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलालाई यस विषयमा प्रश्न गर्दा उनले आफूले छानबीन गरेर भन्न सक्ने बताएका थिए । ‘यस्तो नहुनुपर्ने हो । मलाई विरामीको डिटेल दिनुस् म छानबीन गर्छु,’ उनले भने,‘यो निकै गम्भिर समस्या हो । यसले मान्छेलाई समस्या बनाउँछ ।’
धमलाले केही बेरमा दियोपोस्टमा सम्पर्क गर्दै आफूले उक्त विषयमा बुझ्दा मेसिनको इरर देखाएको बताए । तर जानकारहरु मेसिनमा यस्तो इरर नदेखिने बताउँछन् ।