दियोपोस्ट संवाददाता
चितवन, ४ चैत्र । बोलेरोको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित निपनी चोक यतिबेला तनावग्रस्त अवस्थामा पुगेको छ ।
सोमबार विहान ना ४ च ५००७ नम्बरको बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका १६ वर्षका वसन्त थापाको मृत्युभएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दयानिधि ज्ञवालीका अनुसार घटना पश्चात स्थानियबासीले बोलेरो जलाउने प्रयास गरेका थिए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
स्थानियबासीले भने डिएसपी ज्ञवालीले ‘गोली हान्ने धम्की’ दिएपछि घटनाले उग्र रुप लिएको बताएका छन् ।
मृतकका आफन्त र स्थानियले गाडीको लापरवाहीले युवकको ज्यान गएको भन्दै कारवाही र क्षतिपूर्तिको माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
‘डिएसपीले हतियार झिकेर गोली हान्दिन्छु भनेपछि सामान्य कुटाकुट पनि भयो । डिएसपीमाथि पनि हातपात भयो । रत्ननगरका मेयर नारायण बनमाथि पनि हातपात भयो,’ स्थानिय सौरभ क्षेत्रीले भने,‘अहिले स्थिति तनावग्रस्त अवस्थामा पुगेको छ ।’
यता डिएसपी ज्ञवालीले भने आफूले गोली हान्ने कुरा नगरेको बताए । ‘म सामान्य टिसर्ट र ट्रयाकसुटमा गएको मान्छे किन गोली हान्नु । यो कुरा मैले मेयरलाई पनि भनेको छु,’ ज्ञवालीले भने,‘सामान्य धकेलाधकेल भएको हो ।’
भिडियाे हेर्नुहाेस्