श्रममा प्रयोग गरिएका ८४ बालबालिकालाई परिवारसंग पुनःमिलन

दियो पोस्ट  

रोल्पा, १० चैत । बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडौँका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो ।

परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालबालिका अहिले विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय अध्ययन गरिरहेका छन्”, सेभ द चिल्ड्रेन रोल्पाका प्रतिनिधि दिलकमल क्षेत्रीले भने ।

विद्यालय जान नचाहनेका लागि भने सीपमूलक तालीम दिई समाजमै पुनःस्थापना गरेको बताइएको छ । फर्निचर, हेयर कटिङजस्ता काममा संलग्न उनीहरु आयआर्जन गरी जीविकोपार्जन गर्दै आएका छन् ।

बालश्रमबाट त्यसरी फिर्ता गरिएका बालबालिकाका अभिभावकलाई आयआर्जनमा सहयोग गरेको बताइएको छ । “मानवअधिकार सचेतन केन्द्र नामक स्थानीय गैरसरकारी संस्थाको सहयोगमा बाख्रापालन, तरकारी खेती तथा खुद्रा पसललगायतका क्षेत्रमा सहयोग गरी पुनः बालश्रममा जानबाट रोक्ने प्रयास गरेका छौँ”, हुरेक रोल्पाका कर्मचारी धरेन्द्र डाँगीले भने।

जिल्लामा विभिन्न कारण विद्यालय जान नपाएका दुई हजार ५०० वढी विद्यालय उमेरका बालबालिका रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ रोल्पाका प्रमुख दानबहादुर गुरुङले जानकारी दिए । विद्यालय उमेरका यस्ता बालबालिकामध्ये अधिकांश गरीबीका कारण बालश्रममा संलग्न हुन बाध्य भएको बताइएको छ ।