काठमाडौँ । जिल्ला कारागार धादिङमा हुने विभिन्न धन्दा बारे दियोपोस्टमा समाचार प्रकाशन हुँदै आएको छ । कारागार भित्र कैदीवन्दिमाथि भईरहेको ज्यादतीबारे केन्द्रीय कारागार विभागमा समेत उजुरी परेको छ ।
आर्थिक प्रलोभनमा परी चौकीदार नियुक्त भएको विषयमा दियोपोस्टमा समाचार प्रकाशन भएको थियो ।
धादिङ्ग जिल्ला कारगारमा चौकिदार रुपक चापागाई र अन्य नाइके कैदीका कारण अन्य कैदीहरु समस्यामा उजुरीमा उल्लेख छ । कारागारका नाइके कैदी र चौकीदारले अन्य कैदीहरुलाई थर्काउने, धम्की दिने तथा शारिरिक र मानशिक यातना दिने गरेका छन् ।
चौकीदार चपागाईले जेलर र नासु मदन श्रेष्ठ आफ्नो पक्षमा रहेको भन्दै पीडित बन्दीहरुलाई अपशब्द बोल्दै विभिन्न गालिगलौज समेत गर्ने गरेको पीडितको भनाई छ । कारागारभित्र हुने गरेका अनियमितताका बारेमा कसैले अवाज उठाएको खण्डमा ज्यान मार्ने धम्की दिने गरेको पीडितले उजुरीमा बताइएको छ ।
चैकीदार चापागाईंले आफ्नो सबै निकायमा राम्रो पहुँच भएको भन्दै आफ्नो बिरोध गर्ने कैदीबन्दीलाई हत्या गरि शव गायब पारिदिने समेत धम्की दिने गरेको उनीहरुको गुनासो छ ।
चौकीदारको साथ दिँदै केही बन्दीहरुले समेत आफुहरुमाथि ज्यान मार्ने धम्की दिएको पीडितले उजुरीमा उल्लेख गरिएको छ । ‘देशमा ठुला ठुला परिवर्तन भइसक्दा पनि जेल भित्रको संरचना र ब्यवस्थामा कुनै परिवर्तन भएको छैन ।
अझै पनि जहानीय राणा शासन र पञ्चायती व्यवस्थाभन्दा कुनै कमी छैन,’ कैदीहरुको समुहले दिएको उजुरीमा भनिएको छ, ‘हामी र हाम्रा आफन्तहरुसंग ब्ल्याकमेल गर्ने, पैसाको बार्गेनिङ्ग गर्ने, मुद्धा मिलाईदिन्छु भन्दै पैसा असुल्ने र हाम्रा दीदी बहिनीहरुलाई उच्श्रृङ्खल शब्द प्रयोग गर्दै यौन प्रस्ताव समेत राख्ने गरेका छन् ।’
कारागार भित्रको बेथितिका कारण आफुहरु समस्यामा परेको उनीहरुको भनाई छ ।
बाहिर १ सय रुपैयाँ मुल्य पर्ने मदिरालाई कारागारभित्र ५ सयमा बेच्ने, बजारको मल्यभन्दा डबल मुल्यमा सामान बेच्ने, कामदारहरुलाई कम पारिश्रमिकमा काम लगाई त्यसको ब्याज आफुहरुले खाने गरेको पीडितहरुको भनाई छ ।
त्यस्तो परिपाटीको अन्तय गर्न उनीहरुको माग समेत राखेका छन् । तर आफ्नो कसैले बिरोध र खुलासा गरेमा सिध्याइदिने अथवा अन्यन्त्र सरुवा गराईदिने भन्दै मध्य रातमा धम्की दिने गरेको उनीहरुको अरोप छ ।
पूर्व चौकीदार टोक बहादुर तामाङ्गलाई हटाई ३५ लाख तिरेर रुपक चापागाई चौकिदार भएको र त्यो रकम बन्दीहरु मार्फत उठाउन ५ हजार देखि १० लाख रुपैयाँसम्म सहयोग गर्न दवाब दिँदै आएको उजुरीमा उल्लेख छ । पीडित कैदीहरुले आफुमाथि भएको अन्यायका बारेमा नासु तथा निमित्त प्रमुख मदन श्रेष्ठसमक्ष जानकारी पनि गराएका थिए । तर मदन श्रेष्ठले चौकिदार र नाइकेको नियमलाई मान्नु पर्छ भनि उल्टै हप्काएर पठाएको भनि पीडितले दुखेसो छ ।
नासु श्रेष्ठले समेत चौकिदार र नाईके कैदीको पक्ष लिँदै ‘राम्रोसंग बस्नु नत्र कार्वाही हुन्छ’ भनि मानसिक यातना दिएको प्रति उनीहरुको असन्तुष्टि छ ।