प्रचण्ड केपीले कम्युनिष्टकै बदनाम गर्यो – मोहन बैद्य

दियो पोस्ट  

बुटवलल, चैत १६ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीको नै बदनाम गरेको दाबी गरेका छन् ।

बुटवलमा भएको पत्रकार सम्मेलनमा उनले पार्टीको नाम परिवर्तन गर्न पनि सुझाव दिए । उनले नेकपाको नाम फेरेर ‘सोसियल डेमोक्रेटिक पार्टी’ राख्न सुझाव दिए ।

आफ्नो बिचार, सिद्धान्त छोडेर हिँडेर सत्तास्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिबिधि गर्ने भएपछि किन नेकपा नाम राख्ने, सोसियल डेमोक्रेटिक पार्टी राख्न उनको सुझाव छ ।

नेकपा नेतृत्वको अहिलेको सरकारले कम्युनिष्ट पार्टीकै बदनाम गरेको उनको आरोप छ ।

वैद्यले वर्तमान सरकारबाट बिकास र समृद्धि सम्भव नभएको दावी गरे । ‘भाषण र शब्दजालले मात्रै समृद्धि आउँदैन, सरकारका गतिबिधिले समृद्धिको लक्षण र सम्भावना देखाएन,’ उनले भने ।

प्रधानमन्त्रीले शब्द शैयामा सुतेर समृद्धिको नारा दिएको भन्दै उनले लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल ‘भर्जिन ल्याण्ड’ भनेर नयाँ शब्द जाल फ्याँकेको वैद्यले टिप्पणी गरे ।

नेपालको प्रगतिका स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्ने उनले बताए । सरकारले क्रान्तिकारीहरुलाई दमन गर्न थालेको भन्दै विरोध जनाए ।

पत्रकारहरुको प्रश्नमा वैद्यले नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका पार्टीसँग एकता सम्भव नभएको बताए ।