काठमाडौँ,चैत १५ । लगातार एसईईको प्रश्नपत्र बाहिरिएर स्थगित भएसँगै आक्रोशित बनेका प्रदेश २ का विद्यार्थीहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । उनीहरुले पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको खड्ग नगरपालिका कल्याणपुर र खरचुहियामा चक्काजाम गरेका छन् ।
परिक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको राजिनामा माग गर्दै पुत्ला जलाएका छन् । राजविराजमा विद्यार्थीहरुले ठाउठाउँमा टायर बालेका कारण लामो तथा छोटो दुरीका गाडीहरु गुड्न सकेका छैनन् ।
परीक्षा स्थगित गरिएको बिरोधमा आन्दोलनरत परीक्षार्थीले प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन । धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरिएको हो । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ । जनकपुरधाममा पनि बिभिन्न चोकमा टायर बालेर परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।
उनीहरु शिक्षामन्त्री बिरुद्ध नाराबाजी समेत गरेका छन् । बारामा झडप हुँदा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थी घाईते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही थान अश्रुग्याँस समेत प्रहार गर्नुपरेको छ ।
आज हुने भनिएको स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थीहरु आन्दोलनमा लागेका हुन् ।