नयाँ रेसम मार्ग: युरोपमा प्रभाव विस्तार गर्दै चीन, महत्त्वाकाङ्क्षी अभियानमा इटाली पनि सहभागी

दियो पोस्ट  

युरोपेली राष्ट्र इटाली चीनको महत्त्वाकाङ्क्षी ‘बेल्ट एन्ड रोड’ अभियानमा सहभागी हुने पहिलो विकसित अर्थतन्त्र बनेको छ।

पहिलो युरोपेली राष्ट्रका रूपमा सो चिनियाँ अभियानमा सहभागी भएपछि अन्य पश्चिमा सहयोगी राष्ट्रहरूमा उसप्रति संशय उत्पन्न भएको देखिएको छ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङको इटाली भ्रमणका क्रममा दुई मुलुकबीच २.८ अर्ब अमेरिकी डलर बराबरको २९ वटा सम्झौतामा हस्ताक्षर भए।

ती परियोजनाहरूलाई ‘नयाँ रेसम मार्ग’का रूपमा हेरिएको छ र त्यसले चीनलाई युरोपसँग जोड्ने आशा गरिएको छ।

चीनको बढ्दो प्रभावबारे युरोपेली सङ्घ र अमेरिकाले चासो व्यक्त गरेका छन्।

चिनियाँ अभियान के हो?

नयाँ रेसम मार्गको अर्को नाम ‘बेल्ट एन्ड रोड’ हो र यसको उद्देश्य भनेको भौगोलिक रूपमा टाढा रहेका स्थानमा कम समयमा चिनियाँ सरसामान पुर्‍याउने हो, जसका लागि उसले विश्वव्यापी रूपमा पूर्वाधार परियोजनामा लगानी गर्दैछ।

आलोचकहरूले यसलाई भूराजनीतिक र रणनीतिक प्रभावको प्रतिनिधित्वको रूपमा समेत हेर्ने गरेका छन्।

आलोचकहरूले यसलाई भूराजनीतिक र रणनीतिक प्रभावको प्रतिनिधित्वको रूपमा समेत हेर्ने गरेका छन्

‘बेल्ट एन्ड रोड’ अभियानअन्तर्गत चिनियाँ ब्याङ्कहरूले सडक, रेल र बन्दरगाह जस्ता परियोजनामा लगानी गरिसकेको छन् जसमा चिनियाँ निर्माण कम्पनीहरूलाई अनुबन्ध गरिन्छ।

दक्षिण एशिया र अफ्रिकी मुलुकले चीनलाई तिर्नुपर्ने ऋण यति धेरै भइसक्यो कि यसले ती देशका नागरिक र पश्चिमा मुलुकमाझ चिन्ता बढाएको छ।

तर जुन सडक र रेल पूर्वाधार बनेका छन् ती चिनियाँ परियोजना विना बन्न सम्भव हुने थिएन।

▪ युगान्डामा चिनियाँ लगानीमा ५० किलोमिटर लामो सडक बनेको छ जसले विमानस्थलसँग जोड्ने काम गरेको छ

▪ तान्जानियामा एउटा सानो तटीय सहर उक्त महादेशकै सबेभन्दा ठूलो बन्दरगाह बन्न सक्ने सम्भावना रहेको छ

▪ ग्रीसमा वर्षौँसम्म आर्थिक सङ्कट रहिरहेपछि युरोपमा समेत चिनियाँ कम्पनीहरूले प्रभुत्व जमाउन थाले। सन् २०१६ मा चिनियाँ कम्पनीहरू एथेन्स नजिकैको पाइरिअस बन्दरगाह सञ्चालन गर्ने कम्पनीको ५१ प्रतिशत शेयर खरिद गर्न सफल भएका थिए

कुन कुन परियोजनामा सहमति भयो?

चीनसँगको सहमतिमा इटालीका तर्फबाट उपप्रधानमन्त्री लुइजी डी मेवोले रेसम मार्ग र समुद्री रेसम मार्ग सम्झौताको आशयपत्रमा हस्ताक्षर गरेका थिए।

त्यस लगत्तै ऊर्जा, अर्थतन्त्र र कृषि जस्ता क्षेत्रमा मन्त्रीस्तरीय सम्झौतामा हस्ताक्षर भयो।

इटालीका ठूला ऊर्जा र इन्जिनियरिङ कम्पनी लगायतका प्रमुखहरूले उनीहरूको कम्पनीलाई चिनियाँ बजारमा प्रवेश दिलाउने खाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सहमतिमा इटालीका लागि के छ?

ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेन सदस्य मध्ये चीनले प्रस्ताव गरेको रकम लिने पहिलो राष्ट्र इटाली हो।

इटाली विश्वको १० प्रमुख ठूला अर्थतन्त्र मध्येको एक हो।