
काठमाडौैँ, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको सफल मृगौला प्रत्यारोपण गरिएको हो । यो सँगै अब प्रधानमन्त्रीको शरिरमा चार वटा मृगौला रहनेछन् । चिकित्सकहरुका अनुसार पुराना मिर्गौलाले पुर्ण रुपमा काम गर्न छोडेपछि मात्र शरिरबाट निकालिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको यो दोस्रो प्र्रत्यारोपण हो । यसअघि वि.स. २०६४ मा पहिलोपटक उनको मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उनको नातामा बुहारी पर्ने अञ्जना घिमिरेले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी थिईन् । १२ बर्षपछि सो मिगौलाले काम गर्न छोडेपछि पुन प्रत्यारोपण गरिएको हो ।
दोस्रो पटकको मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीकै नातामा भाञ्जी पर्ने समिक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन् । ३२ बर्षीया समिक्षाको दुइवटा सन्तान रहेका छन् । उनले मिर्गौला दिएर प्रधानमन्त्री ओलीलाई दोस्रो पटक बचाएकी छिन् । आफ्नो शरिरबाट एउटा मिर्गौला कम हुनुको चिन्ताभन्दा पनि मामा पर्ने प्रधानमन्त्री ओलीको शरिरमा सफल प्रत्यारोपण भएपछि उनि निकै खुशि देखिएकी थिईन् ।
शल्यक्रियामा खटिएका चिकित्सकहरुले समेत प्रधानमन्त्री ओलीको आत्मविश्वासको प्रशंसा गरेका थिए ।प्रधानमन्त्रीकै आत्मविश्वासका कारण प्रत्यारोपण सफल हुनेमा उनिहरु विश्वस्त समेत थिए । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीको टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेका हुन् ।