नर्भिक अस्पतालमा बलात्कार प्रयास प्रकरण-पीडित भन्छन्,‘डाक्टरको नाममा पिचास रहेछ’ (उजुरीसहित)

दियो पोस्ट  

काठमाडौं, ४ चैत्र । राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पताल भित्र डा. जे.पी जैसवालले एक विदेशी नागरिकलाई बलात्कार प्रयास गरेको घटनाबारे नयाँ तथ्य फेला परेको छ ।


घटनाका पीडित स्पेनबाट आएका ईजरायली नागरिक दियोपोस्टको सम्पर्कमा आएका छन् । उनले आफ्नी पत्निमाथि डा. जैसवालले पटक पटक बलात्कार प्रयास गरेको विषयमा नर्भिक अस्पतालकै मेडिकल डाइरेक्टर डा. पंकज जलानलाई उजुरी दिएको समेत खुलेको छ ।


तर, अस्पताल प्रशासनले डा. जैसवाललाई कारबाहीका लागि प्रहरी प्रशासनमा सिफारिस गर्नुको सट्टा ‘गुपचुप’ पारेको खुलेको छ । यद्धपी पीडित नागरिक समक्ष भने अस्पताल प्रशासनले आफूहरुले डा. जैसवालमाथि कारबाही गरिसकेको र निष्काशन गरेको झूटो पत्र पठाएको समेत खुलेको छ ।


‘मलाई धेरै टाउको दुख्ने ‘सिभियर हेड्याक’ भएका कारण म नर्भिक अस्पतालमा करिब २८ दिन बसेँ । मलाई आशा छ हजुरले मलाई देख्नुभयो भने चिन्नु हुन्छ । म मेरो जीवनमै सबैभन्दा बढी हतारिएर स्पेन फर्किएँ । नर्भिकमा भएका ती डाक्टरहरुसँग धन्य छु,’ मेडिकल डाइरेक्टर जलनलाई उनले पठाएको निवेदन पत्रमा भनिएको छ,‘म डा. जैसवाल निगरानीमा रहने गरी भर्ना भएको थिएँ । म खुसी पनि थिएँ । तर जति बेला घर फर्किएँ । मलाई थाहा भयो की त्यो डाक्टरको नाममा पिचास रहेछ । उसले मेरी श्रीमतीमाथि पटकपटक यौनहिंसाको प्रयास गरे । जतिबेला मेरी श्रीमती अस्वस्थ थिइन् । मेरी श्रीमतीले उपचारका लागि धेरै डाक्टरलाई समेत भेटिसकेकी छिन् ।’
डा. जैसवालले पीडित विरामीकी पत्नि ललितपुरको हिमालय होटलमा रहेको थाहा पाएपछि पिछा गरेको समेत उजुरीमै उल्लेख छ ।

दियोपोस्टले प्राप्त गरेको उजुरीमा डा. जैसवालले हिमालयन होटलमा पुगेर बलात्कार प्रयास गरेपछि पीडित युवतीले डरले आफू बसेको कोठा समेत परिवर्तन गरेको उल्लेख छ । क्लिनिकमा समेत जैसवालले ती युवतीमाथि बलात्कार प्रयास गरेको उनको खुलाशा छ ।


‘उसले मेरी श्रीमतीलाई हिमालयन होटलसम्म पनि पिछा गरेको थियो । होटलको कोठासम्मै पुगेका थिए । कोठामा जबरजस्ती बलात्कारको प्रयास गरेका थिए,’ उनले उजुरीमा भनेका छन्,‘त्यतिमात्रै उनले क्लिनिकमा समेत जबरजस्तिको प्रयास गरेका थिए । घाइते शरीर लिएर मेरी श्रीमती नेपाल छोड्न बाध्य भइन् । जति बेला मलाई उनको धेरै खाँचो थियो ।’


आफूले लामो अनुसन्धान गरेपछि नर्भिक अस्पताल डा. जैसवालमाथि अन्धो विश्वासमा रहेको समेत उनले उजुरीमा उल्लेख गरेका छन् ।


‘यदि म त्यहाँ थिएँ भने उनले पक्कै पनि सबैकुराहरु मलाई भन्थिन् । मैले व्यक्तिगतरुपमा पनि धेरै अनुसन्धान गरेँ । मैले थाहा पाएँ । नर्भिक हस्पिटल पनि डा. जैसवालले गरेको हर्कतमा अन्धो रहेछ । यस्ता गम्भिर घटनालाई गुपचुप बनाउने अस्पताललाई कसरी अन्तर्राष्ट्रिय भन्न सकिन्छ । यो अनैतिक मात्रै छैन यस्ता डाक्टरलाई सपोर्ट गर्नुपनि नर्भिक अस्पतालको अमानवीय अपराध हो,’ उनले दिएको उजुरीमा भनिएको छ,‘म पक्कै पनि यस विषयमा पत्रकार सम्मेलन गरेर नर्भिक अस्पतालका डाक्टरहरुको वास्तविक अनुहार नेपाली जनतालाई देखाइदिनेछु ।’

उजुरीका सन्दर्भमा नर्भिक अस्पतालको मेडिकल डाइरेक्टर जलनसँग कुराकानी गर्नका लागि नर्भिक अस्पतालको टेलिफोन नम्बर ०१४२५८५५४ मा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले मोबाइल नम्बर दिन नभिल्ने बताइन् । उनले ल्याण्डलाइनमै कुरानकानी गर्न फोन ट्रान्सफर समेत गरिन् तर, जलनले फोन उठएनन् ।


यता डा. जैसवालले भने पीडित नागरिकका पत्निलाई भेटेको स्विकार गरेका छन् । उनले नर्भिक अस्पतालमा उपचारका लागि आएका ती विदेशी नागरिकको दिमागी हालत ठीक नभएको र लागु औषध मुद्दामा पक्राउ परेपछि अस्पतालमा उपचार गर्न ल्याएको बताएका छन् । तर, लागु औषध मुद्दामा पक्राउ परेको नेपाल प्रहरीको कुनै रेकर्डमा ती विरामीको नाम छैन ।

पक्राउ परेका अभियुक्तलाई विमा कम्पनिले उपचार बापतको भूक्तानी गर्दैन । उनको उपचार बापतको रकम एक बिमा कम्पनिले भुक्तानी गरेको छ ।