बिहीबार राति आकाशमा देखिएको चम्किलो बस्तु के हो ? नासो भन्छ–‘उल्कापिण्ड हुनसक्छ’

दियो पोस्ट  

काठमाडौँ, चैत १४ । बिहीबार साँझ नेपाली आकाशमा एक चम्किलो बस्तु देखिएको थियो । सो चम्किलो बस्तुबारे सामाजिक संजालहरुमा निकै जिज्ञासाहरु उब्जिएका थिए । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले भने उक्त बस्तु उल्कापिण्ड हुन सक्ने आशंका गरेको छ । शुक्रबार एक विज्ञप्ती जारि गर्दै नासोले उक्त उल्का पिण्ड गण्डकी प्रदेमा खसेको हुनसक्ने अनुमान समेत लगाएको छ ।

सामाजिक संजालमा विभिन्न किसिमका आवाजहरु आएपछि सोसाइटीले पनि अनुसन्धान गरिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘बिहीबार साँझ करिब ८ बजेतिर नेपाली आकाशमा केही चम्किलो बस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको र प्राप्त सूचनाको आधारमा प्रारम्भिक अनुमान स्वरुप उक्त बस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको कुरा जानकारी गराउन चाहन्छौं’, भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका विभिन्न स्थानबाट प्राप्त जानकारीलाई मनन गर्दा उक्त उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने अनुमान गरिन्छ ।’

सोासाइटीले उक्त उल्कापिण्ड खसेको स्थानमा क्षति समेत हुन सक्ने बताइएको छ । सोसाइटीले सोको बारेमा फोटो वा भिडियो भएमा आफुहरुलाई उपलब्ध गराउन समेत आग्रह गरेको छ । ‘उक्त बस्तु उल्कापिण्ड भए जहाँ खसेको हो त्यहाँ क्षति हुन्छ नै । धेरै जनाले आवाज सुनेको विवरण हामीलाई पठाउनु भएकोले सबैभन्दा ठुलो आवाज सुनेको ठाउँतिर खसेको हुने हुनाले जानकारीको लागि अनुरोध गर्दछौँ’, विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘तपाईँसँग त्यस्ता केही तस्वीर भिडियो भए हामीलाई पठाइ अनुसन्धानमा सहयोग गर्नुहुन अनुरोध गर्दछौँ ।