काठमाडौँ, १८ फागुन । खानेपानी मन्त्री मणिचन्द्र थापाले बहुप्रतिक्षित मेलम्ची खानेपानी वागमतीमा फ्लस गर्ने मिति तोकेका छन् ।
आयोजना निर्माणको अन्तिम चरणमा पुगी पानी सुरुङमा पठाइएसंगै मेलम्ची खानेपानी उपत्यका भित्रिने पक्का भएको उनको दाबी छ । सिन्धुपाल्चोक जिल्लामा मुहान रहेको उक्त पानी सुरुङ भरिएपछि आउँदो फागुन २७ गते शिवरात्रीको अबसर पारेर बागमतीबाट बगाइने तयारी भइरहेको खानेपानी मन्त्री मणी चन्द्र थापाले बताए ।
टनेल सफा गर्नका लागि वागमतीमा मेलम्चीको पानी बगाइने मन्त्री थापाले बताएका छन् ।
मेलम्ची खानेपानी आयोजनाको पछिल्लो कार्य प्रगतीका बारेमा जानकारी दिँदै मन्त्री थापाले भने, ‘टनेलमा पानी पठाइएको छ, २६ गतेससम्म टनेलमा पानी भरिन्छ । टनेलमा भरिएको पानी २७ गते फ्लस गरेर बागमतीबाट बगाइने छ,’ थापाको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘टनेलमा पानी भरेर चैतको १० गतेसम्म टेस्टिङको प्रक्रियामा उपत्यकाका धाराहरुमा पानी पठाइनेछ । करिब दुई महिनाको परिक्षण प्रक्रियापछि लगातार पानी उपत्यकाका सबै धाराहरुमा पठाइनेछ ।’
पानी राजधानीमा भित्रिएपछि राजधानीबासीले पानीको अभाव खेप्न नपर्ने मन्त्री थापाको विश्वास छ ।
सरकारको गौरवको आयोजना भनिएको उक्त खानेपानी आयोजनाको ९७ प्रतिशत कार्यसम्पन्न भएको आयोजना प्रमुख तिरेश प्रसाद खत्रीले जानकारी दिए ।
सुरु गरिएको करिब तीन दशक पछि मेलम्चीको पानी राजधानी आउने बिषयले राजधानी बासीमा खुसीको संचार गराएको छ ।
खानेपानीकै लागि अब लामो समय लामो कुर्न नपर्ने आयोजना प्रमुख खत्रीले बताए ।