महिलामाथि हातपात गर्ने रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक मल्ल ३ हजार बुझाएर छुटे !

महिलामाथि हातपात गर्ने रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक मल्ल ३ हजार बुझाएर छुटे !

मकवानपुर, २० फागुन । महिला कर्मचारीमाथि कुटपिट तथा हातपात गरेको अभियोगमा पक्राउ परेका रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक तथा पूर्व एसएसपी लोकेन्द्र बहादुर मल्ल शक्ति केन्द्रको दबावमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले उनलाई तीन हजार धरौटीमा छुटाएको हो ।


कुटपीटको अभियोगमा पीडित महिला कर्मचारीले जाहेरी दिएपनि प्रहरीले मल्ललाई अभद्र व्यबहारमा जिल्ला प्राशासन कार्यालयबाट म्याद थपेको हो । जिल्ला अदालतबाट म्याद नथपिई सेटिङमै उनलाई उन्मुक्ति दिइएको स्रोतले जनाएको छ ।

‘उहाँ आजै २ बजे धरौटीमा छुट्नु भयो । पीडितसँग कुरा गर्न मिल्दैन । उहाँले अर्को कुरा गर्न सक्नुहुन्छ,’ जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर अमर गजमेरले भने,‘जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडेको हो ।’


पूर्व एसएसपी भएका कारण प्रहरीले पीडितलाई न्याय दिलाउन सहयोग गर्नुभन्दा पनि थप पीडा दिने गरि धरौटीमा छाडेको पीडित परिवारको एक आफन्तले दियोपोस्टलाई बताए ।


‘जिल्ला अदालतमा जानुपर्ने मुद्दा सिडिओमा लगेर टुंग्याइएछ । म माथि हाकिमसापले दुर्व्यबहार मात्रै होइन कुटपीट समेत गर्नु भएको हो । महिलामाथिको हिंसामा जिल्ला प्रहरी कार्यालय मुकदर्शक बन्यो,’ ती आफन्तले भने,‘प्रहरीकै मिलेमतोमा पीडितलाई अन्याय भएको छ । हामी प्रहरी र प्रशासन विरुद्ध नै मुद्दा मामिलामा जानेछौँ ।’

हेटौँडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्टका कर्मचारीले दुई दिनदेखि उद्योग बन्द गराएपछि प्रहरीले बाध्य भएर मल्ललाई सोमबार पक्राउ गरेको थियो ।

उद्योगमा कार्यरत महिला कर्मचारीले आफूलाई हातपात र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

शुरुमा पीडितलाई सहमति गर्न दबाब दिए पनि सहमति नभएपछि हतार हतारमा जिल्ला प्रशासनमा उपस्थित गराई मल्ललाई आज छाडिएको हो ।

मकवानपुर प्रहरीले मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेपनि आज जिल्ला प्रशासन लगेर छुटाएको हो ।

मल्लमाथि उद्योगभित्र कर्मचारीहरुमाथि आतंक खडा गरेको आरोप लागेको छ ।

शंकर र अम्बे ग्रुपको सहकार्यमा निमार्ण भएको रिद्धिसिद्धी सिमेन्टले २०७५ सालको मध्यतिर उत्पादन थालेको थियो ।

रिद्धिसिद्धी सिमेन्टका अध्यक्ष शंकर ग्रुपका शंकरलाल अग्रवाल, कालोबजारीमा पक्राउ परि मुद्दा खेपेका सुलभ अग्रवालका भाई साहिल अग्रवाललगायतलले मल्ललाई छुटाउन प्रशासनमा दबाब दिएका थिए ।

Trending News