काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले सोमबार राजधानीमा बिभिन्न खेल बिधाका ३२ जना खेलाडीलाई पुरस्कृत गर्यो । एनएनआईपीएको १७ औं स्पोर्टस अवार्डबाट सम्मानित हुने मध्ये रितिक राना पनि एक थिए । उनी टेनिस तर्फ २०७८ को उत्कृष्ट वर्ष खेलाडीको रुपमा पुरस्कृत भएका हुन ।
कार्यक्रममा उनले दश हजार नगद सहित ट्रफी प्राप्त गरे । अर्घाखाँची जिल्लामा जन्मिएका रितिक राना अध्ययनको शिलशिलामा भारतको नयाँ दिल्लीमा बस्दै आएका छन् । तर, भारतमा रहेर पनि नेपालमा हुने हरेक खेलमा उनको सहभागित रहँदै आएको छ ।
स्नातक तहमा अध्ययनरत उनी पढाईसंगै खेल क्षेत्रमा समेत राम्रो दक्षता राख्छन् । खेल क्षेत्रमा आफुले प्राप्त गरेको कला र क्षमतालाई नेपालमै प्रयोग गर्ने भन्दै उनी हरेक खेलमा नेपाल आउने गरेका हुन । भारतमै रहेर टेनिसको प्रशिक्षण लिएका उनले खेल भने नेपालका लागि खेल्दै आएका छन् । उनी भन्छन्, ‘म दिल्लीमा बस्छु । पढाई पनि उतै छ । तर खेल भने म नेपालका लागि खेल्छु । किनकी, भारतमा बसे पनि मेरो मन नेपाली हो ।’
खेल क्षेत्रबाट नेपाल र नेपालीको शिर उच्च राख्न सफल भएका उनी राष्ट्रिय खेलाडीको रुपमा परिचित छन् । केही महिना अघि पोखरामा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी लुम्बिनी प्रदेशको तर्फबाट खेलमा सहभागी भएका थिए । सोमबार राजधानीमा वर्षकै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुन पाउँदा खुसी ब्यक्त गर्दै उनी भन्छन्, ‘अहिलेसम्म म लुम्बिनी प्रदेशबाट खेलिरहेको छु । अब अन्र्तराष्ट्रिय स्तरका खेलमा पनि सहभागी भई नेपालका लागि अवार्ड जित्ने मेरो सपना छ ।’
यद्यपी, नेपाल टेनिस संघ र राष्ट्रिय खेलकुद परिषदले समेत उनलाई ओलम्पिक कमिटीको आधिकारिकता प्रदान गरिसकेको छ । नेपाल र नेपालीबाट पाएको माया नै आफ्नो जीतको मुख्य आधार भएको उनी बताउँछन् ।
उनीसंगै सोमबार अवार्ड पाउने मध्ये नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, ब्याडमिन्टनका प्रिन्स दाहाल, कराँतेकी चञ्चला दनुवार, गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिए । त्यस्तै, सर्वाेत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडाले प्राप्त गरिन् ।
गजराज आदर्शा खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार धु्रव तुलाधरले प्राप्त गरे । यसपटक आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, बास्केटबलका अनुषा मल्ल, बक्सिङका सुष्मा तामाङ, साइक्लिङका निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।
त्यस्तै जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीका कमला चन्द, जुडोका सञ्जित डंगोल, कबड्डीका घनश्याम रोकामगर, ¥याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङका सुष्मिता नेपाल, स्कीका संगिता लामा, पौडीका एलेक्जेण्डर शाह, टेबलटेनिसका सिक्का सुवाल श्रेष्ठ, ट्रायथलनका श्रेबी महर्जन, भलिबलका सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह बिष्ट, कुस्तीका सुशीला चन्द र उसुका सुष्मिता तामाङले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ र विभिन्न संघका प्रतिनिधि लगायतले पुरस्कार वितरण गरेका थिए ।