काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अनावश्यक खर्चलाई कटौती गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका छन् ।
बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन्।
उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्न सक्नुपर्छ मैले मेरो सचिवालयको सदस्यबाट घटाएर सुरु गरेँ, राष्ट्रपतिले भन्न सक्नुपर्छ मलाई अहिले १२ जना, १५ जना सल्लाहकार राख्ने कानुनले सुविधा दिएको छ । तर, म पाँचजना मात्रै राख्छु । म तीनजना मात्र राख्छु । हेर्दा सामान्य कुरा देखिन्छ । अहिले हामी अप्ठ्यारो अवस्थामा छौँ । जब राष्ट्रपति, प्रधानमन्त्रीदेखि तलसम्म सबैले भन्न थाल्छ कि हामी अप्ठ्यारो परेका वेला हुनाले गर्दा अत्यावश्यकबाहेकको खर्चलाई हामी कटौती गर्दै छौँ । मितव्ययी हुँदै छौँ भनेर।’
उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारी सबैले अत्यावश्यकबाहेक खर्च कटौती गर्नुपर्ने बताए। विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने उनको तर्क थियो।