छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका–३ स्थित सडकमा टोखाबाट ग्राण्डी अस्पतालतर्फ जाँदै गरेको बा.प्र.०२–०१६ प ६५३१ नम्बरको स्कुटर अनियन्त्रित भई बा.३ ख ८१९६ नम्बरको गाडीमुनि पर्न गई एक जनाको मृत्यु भएको हो । मृत्यु हुने स्कुटर चालक कालिकोट राजकोट नगरपालिका–५ घर भई काठमाडौं टोखा बस्ने दिनेश शाही रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै पर्साको जिराभवानी गाउँपालिका–१ स्थित सडकमा सुवर्णपुरबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०१ पिए २८७६ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको छ । सवारी दुर्घटनामा हुँदा सवार ठोरी गाउँपालिका सुवर्णपुर बस्ने २९ वर्षीय नकुल पौडेलको दुर्घटनामा गम्भीर घाइते भएका छ । उनको स्थानीय मेडिकल हुँदै एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सामै ना.५ च ४७५ नम्बरको गाडीले मोटरसाइकलाई ठक्कर दिँदा चालको मृत्यु भएको छ । मृत्यु भएको जिराभवानी गाउँपालिका–३ परसवा बस्ने ४५ वर्षीय मनोज पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी ताप्लेजुङको सिरीजंघा गाउँपालिका–५ याङपाङस्थित सडकमा प्र.१–०१–००१ त ८२६४ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने सोही गाउँपालिका–६ मामाङ्खे बस्ने २० वर्षीय प्रिजम लिम्बु रहेका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता बाग्लुङको गल्कोट नगरपालिका–११ मनेवापाटस्थित सडकमा खर्वाङबाट हटियातर्फ जाँदै गरेको ध.१ त ६०९ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–११ घर भएका २३ वर्षीय दिपेश सलामी रहेका छन् । चालक दुर्घटनापछि परार छन् ।