काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–११ सालवारी बस्ने ४० वर्षीय तुलसी गिरी र ३१ वर्षीय याम बहादुर अधिकारी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ४२६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला परेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–३ पालिका बजार डेरा गरी बस्ने धनकुटा घोर्लिखर्क गाउँपालिका–२ घर भएका ३२ वर्षीय रमेश श्रेष्ठ अवैध लागूऔषध ब्राउनसुगर करिब ५ सय मिलिग्रामसहित पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठाबाट उक्त लागूऔषध फेला पारेको थियो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स २ सय ४० बोतल, डाईजेपाम ६ सय ५० एम्पुल, नुर्फिन ६ सय एम्पुल र फेनारगन ६ सय एम्पुलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिवान पन्चायत–५ बस्ने २६ वर्षीय अमित कुमार र २३ वर्षीय अनिल कुमार रहेका छन् । विशेष सूचनाको आधारमा बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगजंबाट काठमाडौंतर्फ जाँदै गरेको बिआर २९ जिबि ५४८६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी गाडीका चालक अमित र गाडीमा सवार अनिललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।