१ सय १८ किलो चरेससहित ३ जना पक्राउ

दियो पोस्ट  

पर्सा । प्रहरीले चरेससहित तीनजनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट चरेस १ सय १८ केजी र अवैध लागूऔषध गाँजा ४ केजीसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा पटेर्वासुगौलीका ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका–८ का ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका–६ का २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।

राउतको घरमा लागूऔषध रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा १ सय १८ किलो लागूऔषध चरेस र ४ किलो गाँजा फेला परेको थियो ।

उनीहरू उपर लागूऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।