काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाल र इजरायल सरकारबीच हुने जीटुजी सम्झौतामार्फत् सरकारी कोटामा इजरायल पठाउने भन्दै दुई जनाबाट ३१ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
बर्दियाको गुलरिया नगरपालिका–३ खैरापुर घर भई काठमाडौंको लाजिम्पाटमा बस्दै आएका २६ वर्षका सुनिलकुमार यादव पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले यादवको खोजतलास गर्ने क्रममा चैत २८ गते लाजिम्पाटबाट पक्राउ गरेको हो । यादवबारे थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइसकेको प्रहरीले जनाएको छ ।
उनका अनुसार यादव रीता लामासमेत गरेर दुई जनालाई कृषि कम्पनीमा काम लगाइदिने भन्दै पीडितबाट पटक–पटक गरेर ३१ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।