नाराबाजीपछि चितवनमा मतदान रोकियो

दियोपोस्ट संवाददाता

काठमाडाैं । चितवन–२ मा भइरहेको उपनिर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविको मतदान अवरुद्ध भएको छ। मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकेर सर्वदलीय बैठक डाकिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपनिर्वाचनमा उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदानस्थलमै नाराबाजी गरेपछि विवाद भएको थियो। त्यसपछि त्यहाँ रहेका एमालेका समर्थक र कार्यकर्ताहरुले उनीहरुलाई रोक्न खोज्दा तनाव बढेको हो।

तनावपछि प्रहरीले केही बेर लाठी चार्ज पनि गरेको थियो। लाठी चार्ज गर्दै प्रहरीले नाराबाजीमा संलग्न रास्वपका कार्यकर्तालाई बाहिर पठाएको थियो।

विवादपछि मतदानस्थलबाहिर सेनाको टोली पनि पुगेको छ। रोकिएको मदतान अघि बढाउन अहिले त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ।

सर्वदलीय बैठकमार्फत सहमति जुटाएर मतदान अघि बढाउन लागिएको मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए ।