चितवन-२ बाट रविले मंसिरमा भन्दा फराकिलो मतान्तरले जित्ने निस्चित

दियो पोस्ट  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार चितवन २ मा भएको उपनिर्वाचनमा आफूले मंसिर ४ गते भएको निर्वाचनमा जितेको मतान्तर भन्दा बढी मतान्तरले जित्ने पक्का देखिएको छ । जित्ने पक्का र मतान्तर पनि बढाउने पक्का देखिएको हो ।

पछिल्लो पटक ६० हजार ६७३ मत गणनाको परिणाम सार्वजनिक हुँदा लामिछानेले ४३ हजार १०१ मत पाएका छन्। आइतबारको उपनिर्वाचनमा त्यहाँ ७८ हजार २७७ मत खसेको थियो।

मंसिरको चुनावमा लामिछानेले ४९ हजार ३०० मत पाएका थिए। दोस्रो भएका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएपछि उनीहरूबीचको मतान्तर ३४ हजार ३१२ थियो।

अहिले १८ हजार मत गणना हुन बाँकी छँदै लामिछानेले ३५ हजार बढीको मतान्तर बनाएका छन् ।

अहिलेसम्मको मतगणनामा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत पाएका छन्। लामिछाने र श्रेष्ठबीचको मतान्तर ३५ हजार १४८ मत छ ।