गण्डकीको मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डे को हुन् ?

दियोपोस्ट संवाददाता

काठमडाौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको सहयोगमा पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भने शुक्रबार हुने भएको छ । शुक्रबार मध्यान्ह मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाउने कार्यक्रम तय भएको पाण्डेको सचिवालयले जानकारी दिएको छ । नेकपा एमाले संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले गत शनिबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनको पद गएको थियो ।

त्यसपछि प्रदेश प्रमुख गुरूङले बिहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पाण्डे गत मंसिर ४ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। पाण्डे कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङका पाण्डे नेविसंघ, तरूण दल हुँदै कांग्रेसको राजनीतिमा सक्रिय छन् । पाण्डे २०७४ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। त्यसबेला उनी राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत थिए ।

सम्बन्धित खबर

सिफारिस