
काठमाडौँ । कोसी प्रदेशको कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक अस्वीन तोलाङ्गे घोषित भएका छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत प्रहरी निरीक्षक तोलाङ्गेलाई कात्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको हो ।
कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल, अनुशासन र व्यावसायिकता प्रदर्शन गरी पदीय कर्तव्य वहन गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । साथै अपराध अनुसन्धान र लागू औषध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको हो ।
प्रहरी निरीक्षक तोलाङ्गेले उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ जगना स्थित गिदेरी खोलाको कासघारीमा १४ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार भएका प्रतिवादी समीर परियारलाई खोजतलास गर्ने क्रममा फेला पारी पक्राउ गरी सफल अनुसन्धान गरेका थिए ।
त्यसै गरी बेलका नगरपालिका ९ रामपुर बजारमा पैदल यात्री ५६ वर्षीय लक्ष्मीमाया राईलाई ठक्कर दिई निजको मृत्यु भएको सवारी ज्यान मुद्दामा सवारी दुर्घटना गराई फरार भएको बोलेरो गाडी र त्यसका चालक प्रेम बहादुर बिकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन समेत सफल भएका थिए । दुर्घटना कुन गाडीले गराएको हो भन्ने कुरा नै थाहा नभएको अवस्थामा उनले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएका थिए ।
त्यस्तै बेलका नगरपालिका ७ स्थित पित्लाङको जंगलबाट बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको २ हजार ८२० दशमलव ५० किलो गाँजा समेत बरामद गरेका थिए । सोही स्थानमा अन्दाजी ६ रोपनी क्षेत्रफलमा रहेको गाँजाका २ हजार २ सय बोट फडानी गरी नष्ट गर्ने कार्यसमेत तोलाङ्गेकै नेतृत्वमा भएको थियो ।
यसरी तोलाङ्गेले अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ तवरले काम गरेको भन्दै कोसी प्रदेश प्रहरी कार्यालयले उनलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो ।
प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै कोसी प्रदेश प्रहरी कार्यालयले निज प्रहरी अधिकृतबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल कात्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको जनाएको छ ।