
काठमाडौंको कपनकी निरा आचार्यको उनकै पसलमा लुटपाट गर्न पुगेका झापाका विनोद विकसँग प्रतिकार गर्ने क्रममा हत्या भएको खुलेको छ ।
पक्राउ गरेका विनोदले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गर्न खोजेपछि हत्या गरेको बताएका हुन् ।
विनोदले प्रहरीसँगको बयानमा भनेका छन्, ‘निराको पसलमा म सामान किन्ने निहुमा छिरेको थिएँ । त्यहीबेला गलाको सिक्री तान्न खोज्दा प्रतिकार गरेपछि हत्या गरेको हुँ ।’
यद्यपी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले विनोदको बयानबाट प्रहरी सन्तुष्ट नरहेको बताए । ती अधिकारीले भने, ‘अहिले झापाबाट आरोपीलाई हामी काठमाडौं ल्याउँदैछौँ । उनको प्रारम्भिक बयानले लुटपाट गर्ने उदेश्यले नै हत्या भएको देखिन्छ । तर, हामी थप अनुसन्धानपछि मात्रै सबै कुरा भन्छौँ ।’
घटनास्थलको विश्लेषण गरेका एक प्रहरी अधिकारीका अनुसार निराको एक हातामा दाँतले टोकेको गहिरो घाउसमेत थियो । प्रहरी स्रोतका अनुसार निराले लगाएको सुनको सिक्री विनोदले बालाजुको एक सुन पसलमा बिक्री गरेको खुलेको छ ।
७ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै ‘निरु किचेन’ पसलभित्रै बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको चक्कु प्रहारबाट वीभत्स हत्या भएको थियो । आचार्यको हत्या रहस्यमय बन्दै गएपछि सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति नै बनाएर अनुसन्धान अघि बढेको थियो ।
त्यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी, उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठको नेतृत्वमासमेत छुट्टाछुट्टै अनुसन्धान समिति बनेका थिए ।
लामो समयसम्म हत्यारा पत्ता नलागेपछि निराका आफन्तले प्रहरीलाई दबाब सिर्जना गर्न घटनास्थलमा धर्नासमेत दिन थालेका थिए ।