निरा हत्या प्रकरण : प्रहरीको अपत्यारिलो दाबी, अनुसन्धानमै शंका !

दियोपोस्ट संवाददाता

काठमाडौं । गत वैशाख ७ गने दिउँसो ३ः१५ बजे माया ज्ञवाली कपनको सरस्वीतनगरस्थित ‘निरा किचन’ भाँडाकुँडा पसलमा पुगिन् । उक्त पसलका सञ्चालक थिइन् बागलुङ बडीगाड गाउँपालिका घर भई कपनको सरस्वतीनगरमा बस्दै आएका निरा पाण्डे आचार्य । पसलका सञ्चालक निरालाई पैसा पुर्याउन पुगेकी मायाले पसलेलाई भने देखिनन् । केहीबेर वरपर हेरिन् तर कोही भेटिनन् । कोहि नदेखिएपछि उनले निरालाई फोन गरिन्, तर उठेन ।

चार्जमा छोडेर कत जानुभएको होला भन्ने सोचेर मायाले निराकी श्रीमान योगेन्द्र आचार्यलाई फोन गरिन् र सोधिन,‘‘निरा पसलमा हुनुहुन्न ?’, योगेन्द्रले जवाफमा फर्काए ‘नीरा पसलमै हुनुपर्छ, त्यहीं होला हेर्नु त ।’ योगेन्द्रको जवाफपछि माया अझै नियालेर वरपर हेर्न थालिन् तर भेट्टाउन सकेनन् कही समयपछि उनले पसलको काउन्टरमा चियाइन् । पसलभित्र प्रवेश गरेर हेर्दा नीरा रक्ताम्य अवस्थामा भुईंमा ढलेकी थिइन् । त्यो परिदृष्यले माया छाँगाबाट खसेको जस्तै भइन् र तुरुन्त प्रहरीको कन्ट्रोलमा फोन गरिन् ।

मृत निरा पाण्डे आचार्य

फोन गरेको केही समयमै (पौने ४ बने) घटनास्थलमा प्रहरी प्रभाग कपनबाट इन्स्पेक्टर स्मृति सिलवालको टोली घटनास्थल पुग्यो । रक्ताम्य अवस्थामा ढलेकी नीरालाई प्हरीको टोलीले उपचारका लागि त्रिवि शिक्षण अपस्ताल पठायो तर डाक्टरले उनलाई मृत घोषणा गरिदिए । उनको शरीरका १९ चोट रहेको पोस्टमार्टम रिपोर्टले प्रष्ट पारेको छ ।

हत्या भएको १० औँ दिनमा प्रहरीले निराको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी झापाको मेचीनगर नगरपालिका–१० घर भएका विक भक्तपुर मध्यपुरथिमी नगरपालिका–१, लोकन्थलीमा कोठा भाडामा बस्दै आएका विनोद विकलाई सार्वजनिक गरेको हो । शनिबार राति झापाबाट पक्राउ परेका विकलाई आइतबार काठमाडौं ल्याइएको थियो ।

सिसिटिभि फुटेजमा देखिएको व्यक्ति

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार हत्या आरोपी विकलाई झापा प्रहरीको समन्वयमा शनिबार राति १० बजे विर्तामोड नगरपालिका–१, इलाम बसस्टपस्थित सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका विकले लुटपाटको उद्देश्यले नीराको हत्या गरेको खुलेको छ । एसएसपी आचार्यका अनुसार विकले सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि नजिकै रहेको चक्कुले प्रहार गरी नीराको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

‘९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो,’ एसएसपी आचार्यले भने, ‘घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ । त्यस्तै भोलिपल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ ।’ विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमै शंका !
शरीरभरी अन्धाधुन्ध छुरी हानेर निर्मम तरिकाले भएको हत्यामा आरोपी र मृतकबीच पहिला सम्पर्क नदेखिएको, चिनजान समेत नभएको प्रहरीको दाबी छ । हत्याको प्रकृति अनि कारणबीच त्यति मेल भएको देखिन्न । प्रहरी समेत पूर्ण विस्वस्त देखिदैन । अहिलेको घटनाको विवरण प्रारम्भिक र आरोपीको दाबीमा निर्भर रहेको प्रहरी अधिकारीहरु बताउछन् ।

एसएसपी आचार्यले अहिले घटनाको अनुसन्धान प्रारम्भिक चरणमा रहेको र विस्तृत अनुसन्धानपछि अन्य कारण पनि खुल्न सकिने बताए । ‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउनसक्छ,’ एसएसपी आचार्यले भने, ‘अहिले प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’

प्रहरीको अनुसन्धानमाथि निराका आफन्तहरुले समेत शंका गरेका छन् । प्रहरीले सार्वजनिक गरेको अभियुक्त नै मुख्य अभियुक्त हुन नसक्ने भन्दै निराका आफन्तहरुले शंका गरेका हुन् । हालसम्म निराको शव त्रिवि शिक्षण अस्पतालमै छ । परिवारले अनुसन्धानमा पूर्णतः चित्त नबुझाई हालसम्म शव उठाउने निर्णय गरेको छैन । ‘लुट्नु मात्र कारण थियो भने किन त्यति धेरै पटक छुरा हानियो ?’, आफन्त हुमबहादुर पाण्डे भन्छन्, ‘त्यसैले यस विषयमा गम्भीर अनुसन्धान होस् भन्ने चाहना हो ।’ कतिपय अनुसन्धान अधिकृतहरुले पनि यस्तो वीभत्स हत्याको कारण लुटपाट मात्र देखिनु ‘अनौठो’ भएको बताएका छन् ।

आफन्तले उनको शरीरबाट धेरै रगत नबगेको देखिएको विषयलाई पनि शंकास्पद मानेका छन् । ‘त्यसरी प्रहार हुँदा अन्यत्र रगतका छिटा देखिनुपर्ने तर, त्यस्तो धेरै रगत बगेकै देखिन्न’, हुमबहादुरले भने । प्रहरीले आरोपी सार्वजनिक गर्न लागेको थाहा पाएपछि आफन्तहरु केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को महाराजगञ्जस्थित कार्यालयसम्मै पुगेका थिए ।

तीमध्ये एक बालकृष्ण पाण्डेले बिक घटनामा संलग्न भएकोमा परिवारलाई कुनै शंका नभएको तर उनको मात्र संलग्नता हो त ? भन्ने प्रश्न रहेको बताए । उनि भन्छन्, ‘सबै घटनाक्रम हेर्दा योजनाबद्ध रुपमा घटना भएको हो भन्ने हाम्रो अनुमान हो ।’ सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य भने सुरुमै मुटुसम्म पुग्ने गरी छुरा हानेपछि भित्रै रगत जमेको जस्तो देखिएको बताउँछिन् ।