अदालतको अवहेलना मुद्दामा पोखरा महानगरका मेयर धनराज आचार्य जेल जाने खतरा !

दियो पोस्ट  

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यतिबेला अदालतको आदेशको अवज्ञा गरेको खुलाशा भएको छ । पोखरास्थित उच्च अदालतले दिएको आदेश पालना नगरेपछि मेयर आचार्यमाथि अदालतको अवहेलनामा कारबाही अघि बढेको छ ।
गत फागुन २९ गते उच्च अदालत पोखराका न्यायधिश मिलनकुमार राईको एकल इजालसले ‘आफ्नो नाम दर्ता स्वामित्वको जग्गामा माटो पुर्ने कार्यमा प्रयोग भएको ट्रकलाई नियन्त्रणमा लिईएको भए तत्काल निवेदकको जिम्मामा छाडी दिन र निवेदकको आफ्नो जग्गामा माटो भर्ने (पुर्ने) घेरावेरा पर्खाल लगाउन अवरोध नगर्नु नगराउनूु’ भनि पोखरा महानगरपालिका नगरकार्यपालिका कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
सोही आदेश पालना नभएपछि पोखरा ६ बस्ने ८१ वर्षीय सरस्वती पहारीले पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, कार्यालय प्रमुख (मेयर) धनराज आचार्य, पोखरा महानगरपालिका वडा नं. १८ को कार्यालय र जिल्ला प्रशासन कास्कीलाई विपक्षी बनाई उच्च अदालत पोखरामा अवहेलना मुद्धा दर्ता गरेकी हुन् ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले अदालतको अवहेलना गरे जेल सजायसम्म हुने कानुनी व्यवस्था छ ।
यदि अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ । मेयर आचार्यले फेवातालको संरक्षण र संवद्र्धनमा लाग्नुको सट्टा उल्टै फेवाताल देखाएर सिमसारको नाममा स्थानीयलाई तर्साउँदै उठीवास लाउन खोजेका छन् ।
गत फागुन २४ गते कव्जामा लिएका व्यवसायी युवराज खतिवडाका सवारी साधन महानगरपालिकामै थन्कयाएर राखिएको छ । जबकी यसरी व्यावसायीको निर्माण सामग्री नियन्त्रणमा लिने अधिकार महानगरपालिकालाई छैन ।