तातो हावाबारे जानकारी दिँदादिँदै गर्मीले बेहोस् भइन् टेलिभिजन प्रस्तोता

दियो पोस्ट डेस्क  

काठमाडौं । टेलिभिजन प्रस्तोता तातो हावाबारे जानकारी दिदादिदै गर्मीले बेहोस् भएर ढलेकी छन् । समाचार बाचनको क्रममा मौसमसम्बन्धि तातो हावाबारे जानकारी दिइरहेकी दुरदर्शन टेलिभिजनकी समाचार प्रस्तोता लुपामुद्रा सिन्हा चर्को गर्मीले लाइभ कार्यक्रममै बेहोस भएकी हुन् ।

सिन्हा भारतिय टेलिभिजन दुरदर्शनको वेस्ट बंगाल शाखामा कार्यरत समाचार वाचिका हुन् । वेस्ट बंगाल क्षेत्रमा उग्र रुपले बढेको तातो हावाबारे अपडेट दिइरहेकी उनी आफै त्यसको सिकार बनेकी हुन् ।

होसमा आएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेकी छन्, ‘प्रत्यक्ष समाचार वाचनको क्रममा गर्मीले मेरो रक्तचाप ह्वात्तै घटेछ र बेहोस भएछु । त्यसअघि समाचार वाचन गर्दा असहज भइरहेको थियो । थोरै पानी पिउदा ठिक होला भन्ने लाग्यो तर त्यसले पनि काम गरेन । मेरो जिम्मामा आएका स्टोरीमध्ये त्यसबेला मैले ठ्याक्कै तातो हावाबारे वाचन गर्दै थिए । तातो हावाको स्टोरी वाचन गर्दागर्दै हातखुट्टा लल्याकलुलुक भए । तैपनि पढेर सिध्याउछु सोचेको थिए तर सकिन । एक्कासी अन्धार छायो र म बेहोस भए ।’

वेस्ट बंगालको वेस्ट बर्डवान जिल्लाको तापक्रम ४३ डिग्रि माथि पुगेको छ । त्यहाँको मौसम विभागले आगामी तीन दिनसम्म दक्षिण बंगाल क्षेत्रमा तातो हावा चल्ने अनुमान गरेको छ । बढ्दो गर्मीका कारण वेस्ट बंगाल सरकारले स्थानिय क्षेत्रमा ग्रीष्मकालिन विदासमेत दिइसकेको छ ।