रुसले गत वर्ष मात्र ३ हजार बढि नेपालीलाई भिसा दिएको खुलासा, परराष्ट्र भन्छ, ‘हामीलाई थाहा छैन’

दियो पोस्ट  

काठमाडौं । रुस सरकारले सन् २०२३ मा मात्र ३ हजार बढि नेपाली नागरिकलाई आफ्नो मुलुक प्रवेशको लागि भिसा दिएको खुलेको छ । युद्धकै लागि रुसले सो संख्यामा नेपाली नागरिकको भिसा स्वीकृत गरेको खुलेको हो ।

रुसको परराष्ट्र मन्त्रालयको तथ्यांकलाई आधार मान्दै रुसी मिडिया मिडियाजोनाले उक्त खुलासा गरेको हो । मिडियाजोनाका अनुसार सन् २०२३ मा रुसले नेपाली नागरिकका लागि जारी गरेको भिसामध्ये सबैभन्दा बढि १७ सय ५६ वटा पर्यटन भिसा थिए । ६६० वटा श्रम भिसा थिए भने ४५९ वटा शैक्षिक भिसा रहेको उल्लेख छ । यी सबै गरी सन् २०२३ मा रुसले नेपाली नागरिकका लागि ३ हजार ३७ भिसा जारी गरेको थियो ।

रुसले यसअघि त्यत्रो संख्यामा नेपाली नागरिकलाई भिसा स्वीकृत नगराएकोसमेत उल्लेख गरिएको छ । सन् २०१८ मा रुसले झन्डै २ हजार ५ सय भिसा स्वीकृत गरेकोमा सन् २०२० र ०२१ मा भने ५ सय भिसा जारी गरेको थियो । मिडियाजोनाको रिपोर्टलाई आधार मान्ने हो भने सन् २०२३ मा रुस सरकारले नेपाली नागरिकलाई दिएको भिसा हालसम्मकै उच्च हो ।
नेपालबाहेक रुसले सबैभन्दा बढि पर्यटन भिसा इथियोपेली नागरिकलाई उपलब्ध गराएकोसमेत उक्त रिपोर्टमा उल्लेख छ । जसमा सन् २०२३ मा रुसले १९ सय ३४ इथियोपियालीलाई पर्यटन भिसा उपलब्ध गराएको थियो । जुन युद्ध अघिको तुलनामा निकै बढि हो ।

जारी युद्धका कारण युक्रेनविरुद्ध लड्न रुसले ठुलो संख्यामा नेपालीलाई भिसा उपलब्ध गराएको हनु सक्ने अनुमान गरिएको छ । गत फेबु्रअरीमा सिएननले करिब १५ हजार नेपाली नागरिकलाई रुसले आफ्नो सेनामा भर्ती गराएको रिपोर्ट सार्बजनिक गरेको थियो । नेपालबाहेक रुसले सोमालिया, सिरिया, भारत, क्युबा, चीन र सर्वियाले पनि रुसको तर्फबाट युक्रेनविरुद्ध युद्ध लडिरहेका छन् ।

परराष्ट्र भन्छ, ‘हामीलाई थाहा छैन’

रुस सरकारले सन् २०२३ मा ३ हजार बढि नेपालीलाई भिसा उपलब्ध गराएको सन्दर्भमा परराष्ट्र मन्त्रालय भने जानकार देखिएन । यस सन्र्दभमा आफुहरुलाई सुचना नआएको परराष्ट्र मन्त्रालयका सुचना अधिकारी ऋषि राज आचार्यले बताए ।

‘यसबारे हामीलाई कुनैपनि आधाकारिक जानकारी आएको छैन’ दियो पोष्टसँग उनले भने, ‘रुसको विषयमा हामीले काम गरिरहेका छौ । वास्तविकता के रहेछ थप बुझ्नुपर्छ ।’

इता रुसी सेनामा भर्ना भएका नेपालीहरुको परिवार बालुवाटारस्थित रसियन राजदुतावास परिसरमा धर्ना बसेका छन् । रुसी सेनामा कार्यरत नेपालीको तथ्यांक सार्बजनिक गर्नुपर्ने, घाइतेको उपचार र क्षतीपुर्तीको व्यवस्था गरिनुपर्ने, नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनुपर्ने र युद्धमा मारिएकाहरुको शव फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।
यद्यपि, नेपाल सरकारले रुस सरकारलाई आफ्ना नागरिक भर्ती नगराउन र युद्धमा मारिएकालाई नेपाल पठाउन बारम्बार आग्रह गर्दै आएको छ ।