नेम्वाङ बालबाल जितेको इलाममा यसपटक ४ पक्षीय भिडन्त, जित्नको लागि १३ देखि १५ हजार मत काफी

दियोपोस्ट संवाददाता  

इलाम । इलाम २ मा २०७९ सालमा एमालेका प्रभावशाली नेता सुवास नेम्वाङले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कामाथि ११४ मतको साँघुरो जीत दर्ता गरेका थिए । प्रतिस्पर्धा पेचिलो हुँदै गएपछि २० घण्टा मतगणना रोकेर पुनः गणना थालेपछि नेम्वाङले अन्ततः परम्परागत क्षेत्रमा साँघुरो जीत दर्ता गरेका थिए ।
अर्थात् अघिल्लोपटक दुई पक्षीय प्रतिस्पर्धामा एमालेका नेम्वाङ ३००२० मत ल्याएर जित्दा कांग्रेसका खड्काले २९९०६ मत प्राप्त गरेका थिए । दुईबीच कडा टक्कर चल्दा तेस्रो बढी मतका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले १३८० मत ल्याएका थिए ।
नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण हुन मृत्यु हुन पुग्यो । त्यसैले वैशाख १५ गते हुन लागेको इलाम २ मा यसपटक प्रतिस्पर्धाको अलग स्वरुप देखिन थालेको छ । अर्थात दुईपक्षीयबाट यसपटक इलाममा कम्तिमा पनि चार पक्षको प्रतिस्पर्धा हुने देखिएको हो । यसरी प्रतिस्पर्धी बढ्दा इलाममा यसपटक जीतसम्म पुग्नका लागि ३० हजारको जरुरत पर्ने छैन । चार पक्षको प्रतिस्पर्धा भएको खण्डमा १३ देखि १५ हजार मत जसले कटाउँछ उसले बाजी मार्ने देखिएको हो ।
कांग्रेस र एमालेको प्रभाव र सांगठनिक प्रभाव रहेका क्षेत्रमा यसपटक अरु दुई पक्षले कडा टक्कर दिँदैछन् । गत निर्वाचनबाट उदाएको रास्वपा र पछिल्लो समयमा पूर्वी नेपालमा कोशी प्रदेशको नामकरणको विरोधसहितका विषय उठाउँदै आएको पहिचान पक्षधर पनि बलियो गरी उपस्थित हुँदैछन् । यसैले दुईबाट चारपक्षबीच प्रतिस्पर्धा हुने चुनावी प्रचारको अन्तित रुझानले देखाएको हो ।
बलियो सांगठनिक जग र परम्परागत विरासत भएको क्षेत्रमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई चुनावी मैदानमा उतारेको हो । नेम्वाङसँगै प्रतिस्पर्धा गरेका कांग्रेसका उनै डम्बरलाई फेरि पनि कांग्रेसले उम्मेदवारका रुपमा पत्याएको हो । उनी इलाम कांग्रेसका सभापति मात्रै होइनन् ठेकेदार पनि हुन् ।
अघिल्लोपटक देशैभर कांग्रेस एमालेको प्रभावलाई निस्तेज पार्ने दौडमा उत्रिएको रास्वपाले यसपटक इलाममा स्थानीय मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । कोशी नामकरण विरुद्धको पहिचानको आन्दोलनका अगुवा डकेन्द्रसिंह लिम्बू अर्का बलिया उम्मेदवार देखिएका छन् । रुख र सूर्यको मात्रै एकाधिकार जस्तो रहेको इलाम उपनिर्वाचनमा यसपटक घण्टी र मुढा चुनाव चिन्हले जबर्जस्त मत बटुल्ने प्रारम्भिक रुझानले देखाएका छन् । यसैले कोशीमा यसपटक एमालेबाट सुहाङ, कांग्रेसबाट खड्का, रास्वपाबाट मिलन र पहिचानवादीका तर्फबाट लिम्बूबीच चार पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । इलाममा दलका १२ र ७ जना स्वतन्त्र उम्मेदवार छन् । तर पनि मुख्य प्रतिस्पर्धामा भने सुहाङ, खड्का, मिलन र लिम्बूबीच हुने देखिएको हो ।
कांग्रेस र एमाले आफ्नो वर्चस्व पुनः स्थापित भएको मात्रै होइन विकल्पको राजनीतितर्फ जनताको आशा नै नभएको देखाउन सबै प्रयास गरिरहेका छन् । किनकी २०७९ को चुनाव र उपचुनावमा रविको रास्वपाले ल्याएको तरंग गलत सावित गराउने ध्याउन्न उनीहरूको छ । किनकी अब पुराना दलको सान्दर्भिकता अझै रहेको देखाउनबाट चुक हुन उनीहरू चाहँदैनन् यसैले अघिल्लोपटक पाएको ३० हजार हाराहारीको मतलाई उनीहरूले आफूहरूको बलियो आधार मानेका छन् ।
मत बाडिँदा १३ देखि १ हजार मत मात्रै आउँदा पनि जित्न सकिने हिसाब कांग्रेस र एमालेको छ । गणितमा उनीहरू ढुक्कको अवस्थामा छन् । माओवादीसँग तालमेल कसेर उत्रिएको एमाले पनि ढुक्क छ । तर माओवादीकै पूर्व नेता लिम्बू रास्वपाबाट उम्मेदवार बनेका छन् । अर्कोतिर यसै पनि माओवादीको यो क्षेत्रमा कमजोर उपस्थित भएको गत निर्वाचनले देखाएको छ । समानुपातिकमा पनि माओवादीले अपेक्षित भोट इलाममा ल्याउन सकेको थिए । नेम्वाङको निधनपछि सान्त्वना र सहानुभुतिको भोट पाउने हिसाब निकालेर पनि उनीहरू बसेका छन् ।
अघिल्लोपटक एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेकोमा यसपटक पाँच सयले बढेर एक लाख १५ हजार आठ सय ८९ पुगेका छन् । यसपटक मतदाताको संख्या पनि केही बढेको, दलहरूले धेरै मेहनत गरेकोले खस्ने मत पनि बढ्ने देखिन्छ । यस्तोमा जितका लागि १५ हजारभन्दा केही बढी मत ल्याउनुपर्ने अवस्था पनि आउन सक्छ ।
रास्वपाको हिसाबकिताब पनि यस्तै वरिपरी छ । कांग्रेस एमाले घट्ने र आफूहरू बढ्ने हुँदा प्रतिस्पर्धा चार पक्षीय हुने रास्वपा र पहिचान पक्षधरहरूको छ ।
तर रास्वपा अब २०८४ को आँखीझ्याल र अब आफूहरू नै हो भन्ने देखाउन ध्याउन्नमा छ । यसैले पार्टीका दर्जनौं नेता कार्यकर्तालाई महिनौदेखि इलाममा उतारेर सबैभन्दा बढी मेहनत देखाइरहेको छ ।
४१ विभिन्न घटक, सेलिब्रेटी मेयर हर्क साम्पाङदेखि केही उग्र अभियन्ताको समेत साथ पाएका पहिचानवादी उम्मेदवार डेकेन्द्र पनि यसपटक बलियो देखिएका छन् । उनका प्रचार र अहिलेसम्मको रुझानले पनि उनी कमजोर उम्मेदवार नरहेको चर्चा छ । पहिचानको पहिचान राखिराख्न पनि आफूले जित्नुपर्ने भन्दै भावनात्मक नारा र अभियानसहित चुनावी मैदानमा उत्रिँदा लिम्बू पनि यसपटक सशक्त उम्मेदवारमा दरिएको स्थानीयहरू बताउँछन् ।
वैशाख १५ हुने उपनिर्वाचनमा इलामको देउमाइ नगरपालिका पर्दछ । गाउँपालिकातर्फ माङसेबुङ, चुलाचुली र फाकफोकथुमका सम्पूर्ण वडा यही क्षेत्रमा परेका छन् ।
धेरै मतदाता भएको इलाम नगरपालिकाकका ११ वटा वडा इलाम २ पर्छ । जसमा १ देखि ९ सबै ९ वटा वडा परेका छन् । त्यस्तै, ११ र १२ नम्बर वडा पनि यसै क्षेत्रमा पर्छन् । माइ नगरपाकिलाका ६ देखि ८ नम्बरसम्मका वडा यसमा परेका छन् ।