नेपाल प्रहरीको डिएसपी हुँ भन्दै दियोपोस्टकर्मीलाई धम्की,‘समाचार नहटाए कार्यालयमै आउँछु’

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर एक व्यक्तिले नेपाल प्रहरीको प्रहरी नायब उपरिक्षक (डिएसपी) हुँ भन्दै धम्की दिएका छन् । उनले आफू अनुसन्धानका लागि दियोपोस्टको कार्यालयमा आउने समेत धम्की दिएका छन् । आफूलाई नेपाल प्रहरीका डिएसपी भूवनेश्वर शाह हुँ भन्ने ती व्यक्तिले ९८४९५१४४४८ नम्बरबाट दियोपोस्टको सम्पादक रिता बुढाथोकीलाई धम्की दिएका हुन् ।

आइतबार दियोपोस्टमा उपसचिव उमेश साहलाई ललितपुर नापी कार्यालयको हाकिम बनाएर सरुवा गर्न लागिएको विषयमा प्रकाशित समाचारलाई लिएर ती व्यक्तिले समाचार हटाउन धम्की दिएका हुन् । ‘त्यो न्युज कहाँबाट कसरी पाउनु भयो ? उजुरीको सिट नम्बरहरु र सरकारी कागज मिलाएको प्रमाणहरु तपाईंसँग छ ?’ उनले यसो भनेपछि जवाफमा दियोपोस्टले प्रमाण बिना दियोपोस्टमा कुनै पनि समाचार प्रकाशन नगर्ने बताएको थियो ।

त्यसपछि फोन गर्ने ती व्यक्तिले भनेका छन्,‘ठीक छ प्रमाण छ भने म तपाईंको अफिसमा आउँछु । म किर्तिपुरको डिएसपी बोलेको हुँ । भूमेश्वर शाह बोलेको हुँ ।’ दियोपोस्टकर्मी बुढाथोकीले यो तपाईंको नम्बर होइन त भनि प्रश्न गर्दा डिएसपी शाह बताउने व्यक्तिले ‘यो मेरै नम्बर हो । भोली बिदा भइहाल्यो । जसले न्युज दिएको छ त्यसलाई खबरदारी गर्नुस् । यस्ता समाचार सरोकारवालालाई नसोधी नछाप्नुस् । यो न्युज हटाइदिनुस् । तपाईंहरुको अनामनगरमा कुन ठाउँमा हो अफिस ? हटाउन मिल्दैन भने मुद्दामामिला हुन्छ । कानुनअनुसार जानुपर्ने हुन्छ ।’

ती व्यक्तिले पुन फोन गर्दै कार्यालयको ठेगाना मागेका थिए । ‘रिताजी अनामनगरमा कुन ठाउँमा हो अफिस ? न्युजप्रति मेरो असहमति छ,’ उनले भनेका छन् । जवाफमा बुढाथोकीले समाचारप्रति असहमति छ भने सम्बन्धित ठाउँमा जानुपर्ने राय दिएकी थिइन् । ‘हामी तपाईंको कार्यालयमा आउँछौँ । सबै प्रमाण पनि लिन्छौँ । सम्बन्धित ठाउँमा पनि जान्छौँ । पीडित र हामी दुईटै आउँछौँ । तपाईंको कार्यालयमा प्रमाणहरु पनि हेर्छौं । जथाभावी न्युज लेखिदिनु भएन । तपाईंलाई अफ्ट्यारो पर्छ,’ उनले धम्कीमा भनेका छन् ।

यता महानगरीय प्रहरीबृत्त किर्तिपुरका प्रमुख रहेका प्रहरी नायब उपरिक्षक डिएसपी भूवनेश्वर शाहले भने आफूले कुनै पनि संचार माध्यमलाई फोन गरेर समाचारको विषयमा कुराकानी नगरेको बताए । धम्की दिने व्यक्तिको अडियो रेकर्ड समेत पठाएपछि उनले नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन समेत सुझाव दिए । ‘मेरो नाम लिएर कसैले पनि संचारकर्मीलाई धम्की दिएको छ भने तपाईंले उजुरी दिनुस् । म पनि आएर बयान दिन तयार छु,’ शाहले दियोपोस्टसँग भने,‘नेपाल प्रहरीको डिएसपीको नाम लिएर जो कोहीले धम्की दिन पाउनु हुँदैन ।’

अडियो रेकर्ड सुनेपछि डिएसपी शाहले आफू यसअघि जिल्ला प्रहरी कार्यालय ललितपुरमा कार्यरत रहँदा नापी कार्यालयका हाकिम उमेश शाहसँग भेटघाट र चिनजान भएको र उक्त आवाज उनै शाहको भएको उनको दाबी छ । ‘यो मान्छे त्यही नापी कार्यालयको अधिकृत उमेश शाहको आवाज हो,’ उनले भनेका छन् ।

सिफारिस