
काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको हत्या भएको २७ दिनपछि परिवारले शव बुझेका छन्। लामो समयदेखि न्यायको माग गर्दै आन्दोलनरत परिवारले अन्ततः शव बुझेका हुन् ।
इनिसाको शव बिहीबार दाहसंस्कार गर्ने तयारी भएको बताइएको छ । परिवारका अनुसार इनिशाको शव भेरी पुल नजिकको सम्झिघाटमा आज दाहसंस्कार गरिनेछ। न्याय नपाएको भन्दै परिवारले यसअघि शव बुझ्न अस्वीकार गर्दै आएका थिए।
गत फागुन २३ गते वीरेन्द्रनगरबाट बेपत्ता भएकी इनिशा सोही दिन जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिए पछि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको अनुसन्धानपछि प्रहरीले यौन सम्पर्कपछिको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको निष्कर्ष निकालेको जनाएको थियो। घटनामा संलग्न रहेको आरोपमा एक किशोरविरुद्ध जबरजस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ भने अन्य केही व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको बताइएको छ।
न्यायिक प्रक्रिया अगाडि बढ्ने प्रतिबद्धतापछि परिवार शव बुझ्न सहमत भएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।