निर्वाचन समीक्षा र आगामी रणनीतिमा जोड दिँदै प्रलोपा अध्यक्ष परिषद् बैठक सम्पन्न

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद् बैठक पार्टीको केन्द्रीय कार्यालय, सुविधानगर–तिनकुनेमा सन्तोष परियारको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा, प्रदेशस्तरीय प्रतिवेदन, कार्की आयोगको प्रतिवेदन, आगामी केन्द्रीय कमिटी बैठक र विभिन्न राजीनामासहितका विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने राज्य संयन्त्र, राजनीतिक दल तथा मतदाताप्रति आभार व्यक्त गरेको छ। साथै, उक्त निर्वाचनले प्रलोपाले अघि सारेको प्रगतिशील लोकतान्त्रिक राजनीतिक धारलाई पुष्टि गरेको निष्कर्ष निकालेको छ। यद्यपि, समय, संगठन, स्रोतसाधनको सीमितता लगायतका कारण अपेक्षित परिणाम हासिल हुन नसकेको बैठकको ठहर छ।

बैठकले निर्वाचनबाट लोकतान्त्रिक प्रणाली सुदृढ भएको उल्लेख गर्दै जनमत प्राप्त अन्य दलहरूलाई सुशासन र समृद्धिको दिशामा अघि बढ्न शुभकामना व्यक्त गरेको छ। साथै, सरकारका जनहितका काममा सहयोग र संविधान, लोकतन्त्र तथा राष्ट्रियताविरुद्धका गतिविधिमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।

प्रदेशस्तरीय समीक्षाका सम्बन्धमा, सातै प्रदेश कमिटीलाई निर्वाचनको गहन समीक्षा गरी प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ। उक्त प्रतिवेदन आगामी केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ। साथै, पार्टी सुदृढीकरणका लागि ठोस कार्ययोजना बनाउन प्रदेश कमिटीहरूलाई आग्रह गरिएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे बनेको कार्की आयोगको प्रतिवेदन अपूर्ण भए पनि, त्यसमा उल्लेखित दोषीहरूमाथि निष्पक्ष कारवाही गर्न सरकारसँग बैठकले जोडदार माग गरेको छ। दण्डहीनताको अन्त्य गर्न निष्पक्ष न्यायिक प्रक्रिया आवश्यक रहेको बैठकको धारणा छ।

प्रलोपाको केन्द्रीय कमिटीको पूर्ण बैठक वैशाख तेस्रो साता बस्ने निर्णय गरिएको छ भने त्यसअघि अध्यक्ष परिषद्को तयारी बैठक बस्नेछ।

विविध शीर्षकअन्तर्गत प्राप्त राजीनामा तथा पार्टी हितविपरीतका गतिविधिबारे आवश्यक कारवाहीका लागि आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय समेत गरिएको छ।