वीरगञ्जस्थित सीता अस्पतालको लापरवाहीः ३ घण्टासम्म बिरामी छटपटाउँदा डाक्टरले हेरेनन्, उपचार नपाएर मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । वीरगञ्जस्थित सीता सुपरस्पेसलिटी अस्पतालमा भर्ना भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल र चिकित्सकहरूको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। बाराको पर्सौनी गाउँपालिका-२ निवासी ५७ वर्षीया श्रीपती देवीको उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।

परिवारका अनुसार गत सोमबार बिहान अचानक वान्ता सुरु भएपछि श्रीपती देवीलाई नजिकैको क्लिनिकमा लगिएको थियो। त्यहाँका डाक्टर उदय नारायण सिंहले थप उपचार आवश्यक रहेको बताउँदै अस्पतालमा भर्ना गर्न सुझाव दिएपछि उनका श्रीमान् हृदयनारायण महतोले बिरामीलाई वीरगञ्जस्थित उक्त अस्पतालमा भर्ना गराएका थिए।

अस्पतालमा भर्ना गरेपछि पनि बिरामीको अवस्थामा सुधार आउन नसकेको मृतकका अफन्तको भनाई छ । आफन्तका अनुसार अस्पतालमा चिकित्सकको उपस्थिति नभई नर्सहरूकै भरमा सामान्य औषधि मात्र दिइएको थियो। अवस्था क्रमशः गम्भीर बन्दै जाँदा श्रीपती देवीलाई श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ।

गम्भीर अवस्थामा समेत चिकित्सक उपस्थित नभएको र अक्सिजनसमेत उपलब्ध नगराइएको परिवारको आरोप छ। श्रीपती करिब तीन घण्टासम्म अस्पतालको बेडमै छटपटाइरहिन् र अन्ततः त्यहीँ उनको मृत्यु भएको मृतकका दाजु रबिन्द्र महतोले बताए ।

मृतकका श्रीमान् हृदयनारायण महतोले अस्पताल र चिकित्सकहरूको लापरवाहीकै कारण पत्नीको ज्यान गएको दाबी गरेका छन्। महतोले उक्त समयमा ड्युटीमा रहेका डा. मुकुन्द जयसवाल र नर्स बबिता साहले बिरामीको उचित हेरचाह नगरेको आरोप लगाए।

यस्तै, बिरामीको अवस्था गम्भीर भएपछि डा. दिलिप चौरासियालाई जानकारी गराइए पनि उनी अस्पताल नआएको परिवारको भनाइ छ। परिवारले अस्पतालले मृत्युको कारणबारे स्पष्ट जानकारी नदिएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

यस विषयमा बुझ्न खोज्दा अस्पतल प्रशासनले कुनै प्रतिकृया दिएको छैन ।