डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति तथा सांसद डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो।

बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए, जसलाई दलले समर्थन गरेको बताइएको छ। रास्वपाका प्रवक्ता मनीष झाले बैठकले सभापतिको प्रस्तावलाई अनुमोदन गर्दै अर्याललाई औपचारिक रूपमा उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

प्रतिनिधिसभाको सभामुख निर्वाचन आगामी चैत २२ गते हुने तय भएको छ। हालै सम्पन्न आमनिर्वाचनमा रास्वपा ठूलो दलको रूपमा स्थापित भएको छ र संसदमा उसको दुइतिहाई बहुमत नजिकको अवस्था रहेकोले अर्याल सभामुखमा निर्वाचित हुने सम्भावना बलियो रहेको विश्लेषण गरिएको छ।

अर्याल यसअघि पनि प्रतिनिधिसभा सदस्य रहिसकेका छन् र हालैको निर्वाचनमा काठमाडौं-९ बाट निर्वाचित भएका थिए।