
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा अध्यादेश पेस गरेका छन्। गृहमन्त्री गुरुङले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ सदनमा पेस गरेका हुन्।
प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत बसेको पहिलो बैठकमा दलका नेताहरूले आफ्ना मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीअनुसार गृहमन्त्री गुरुङले ति अध्यादेश पेस गरेका थिए ।
पेस गरिएका अध्यादेशमध्ये नागरिकता सम्बन्धी अध्यादेशले नागरिकता प्राप्ति र व्यवस्थापनसँग जोडिएका केही प्रावधान संशोधन गर्ने बताइएको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशले निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन तथा समानुपातिक प्रतिनिधित्वसम्बन्धी व्यवस्थालाई परिमार्जन गर्ने उद्देश्य राखेको बताइएको छ।
यसैगरी, नेपाल विशेष सेवा सम्बन्धी अध्यादेशले राष्ट्रिय अनुसन्धान विभागको संरचना तथा कार्यक्षेत्रमा परिवर्तन गर्ने प्रावधान समेटेको छ।
बैठकमा यसअघि विभिन्न दलका सांसदहरूले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बिहान ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ।