मालपोत कार्यालय भरतपुरबाट १६ जना बिचौलिया पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । भरतपुरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनधिकृत रूपमा कामकारबाहीमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार कार्यालय परिसरबाटै उनीहरूलाई पक्राउ गरेको हो।

पछिल्लो समय कार्यालयमा अनधिकृत व्यक्तिको आवतजावत बढ्दै गएको र उनीहरूले सेवाग्राहीलाई विभिन्न बहानामा झुक्याउने तथा ठगी गर्ने गुनासो बढेपछि प्रहरीले निगरानी कडा पारेको थियो।

बिचौलियाको सक्रियता बढेपछि मालपोत कार्यालय भरतपुरले अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाएको जनाएको छ। अबदेखि सेवा लिन आउने सम्बन्धित जग्गाधनी, हकवाला तथा कानुनअनुसार दर्ता भएका भू-सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइनेछ।

कार्यालयका अनुसार सेवासम्बन्धी सम्पूर्ण काम अब सम्बन्धित व्यक्तिको निवेदन वा आधिकारिक भू-सेवा सञ्चालकहरूले पेस गरेका कागजातका आधारमा मात्र अगाडि बढाइनेछ।

यससँगै, बिचौलिया र आधिकारिक प्रतिनिधि छुट्याउन नयाँ व्यवस्था लागू गरिएको छ। कानुनबमोजिम दर्ता भएका भू-सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्नेछ। परिचयपत्र नभएका तथा आधिकारिकता पुष्टि नहुने व्यक्तिलाई कार्यालयभित्र प्रवेश निषेध गरिनेछ।

मालपोत कार्यालयले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्र सेवा लिन आग्रह गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।