सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

दियोपोस्ट संवाददाता

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते हुने प्रतिनिधिसभा सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाको आजदेखि सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको निर्देशन अनुसार संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले कार्यतालिका प्रकाशन गरेका हुन्।

कार्यतालिकाअनुसार, चैत २० गते बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका सदस्यहरूले सभामुख पदका लागि प्रस्ताव दर्ता गर्न सक्नेछन्। दर्ता भएका उम्मेदवारको सूची सोही दिन दिउँसो २ः३० बजे सार्वजनिक गरिनेछ।

सचिवालयका अनुसार, दर्ता भएका प्रस्ताव चैत २२ गते हुने बैठकमा प्रस्तावक र समर्थकको उपस्थितिमा प्रस्तुत गरी सामूहिक छलफलपछि निर्णयार्थ पेश गरिनेछ।