
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोड स्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली घर भई हाल हेटौँडामा बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिकले अर्का परीक्षार्थीको नाममा परीक्षा दिइरहेको आशंकामा केन्द्रमा खटिएको सुरक्षाकर्मीले सोधपुछ गर्दा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको थियो। थप अनुसन्धानका क्रममा उनी नक्कली परीक्षार्थी भएको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बिकमाथि शैक्षिक कसुर सम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको छ। साथै, वास्तविक परीक्षार्थी तथा यस घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
शिक्षा क्षेत्रको महत्वपूर्ण परीक्षामा यस प्रकारको गतिविधिले समग्र मूल्याङ्कन प्रणालीमाथि प्रश्न उठाउने भएकाले यस्ता घटनामा कडाइका साथ कारबाही गरिने प्रहरीको भनाइ छ।