प्रहरीको खोजी विशेष अभियान: चार दिनमा २२६ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया गतिविधि तथा अभद्र व्यवहारजस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न देशका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानका क्रममा चार दिनभित्रै २२६ जनालाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत ती व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो ।

प्रहरी प्रधान कार्यालयद्वारा सार्वजनिक विवरणअनुसार चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए । त्यस्तै १९ गते कोशीबाट एक, मधेश प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई तथा कर्णालीबाट ११ जना नियन्त्रणमा लिइएका थिए ।

यस्तै चैत २० गते मधेश प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई जना पक्राउ परेका छन् । चैत २१ गते मात्रै काठमाडौँ उपत्यकाबाट ६२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश गुण्डागर्दी, बिचौलिया गतिविधि, यातायात तथा मालपोत कार्यालयमा सेवाग्राहीलाई दुःख दिने र सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेका छन् । प्रवक्ता काफ्लेले यस्तो अभियान निरन्तर जारी रहने स्पष्ट पार्नुभएको छ ।