मतदाता नामावली संकलन आजदेखि पुनः सुरु

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको मतदाता नामावली संकलन कार्य आजदेखि पुनः सञ्चालनमा आएको छ। निर्वाचन आयोगले मङ्सिर ६ गतेदेखि उक्त कार्य रोकिएको थियो। आयोगको चैत १८ गते बसेको बैठकले नामावली संकलन प्रक्रिया पुनः सुरु गर्ने निर्णय गरेको हो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थगित कार्यक्रमलाई आजदेखि नियमित रूपमा अगाडि बढाइएको छ। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले आफ्नो परिचयपत्रको विवरण प्रयोग गरी अनलाइन प्रणालीमार्फत सहजै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका व्यक्तिहरूले भने आयोगको ‘प्रि-इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भर्नुपर्नेछ। त्यसपछि फोटो तथा औँठाछापसहितको जैविक विवरण उपलब्ध गराउन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।

यसका साथै, मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइ सम्बन्धी विवरण अद्यावधिक गर्ने कार्य पनि अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको छ।

नाम, थर, ठेगाना सच्याउने, एउटै वडाभित्र एकभन्दा बढी मतदानस्थल भए पायक पर्ने स्थानमा नाम सार्ने तथा नागरिकताअनुसार विवरण मिलान गर्ने सुविधा पनि उपलब्ध गराइएको आयोगले जनाएको छ। आयोगले सबै नागरिकलाई मतदाता नामावली संकलन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।