अनलाइन सट्टेबाजी नियन्त्रणमा कडाइः ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले अनलाइन सट्टेबाजी नियन्त्रणमा कडाइ गर्दै सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ। शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयन गर्ने क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी अवैध रूपमा सञ्चालनमा रहेका यस्ता प्लेटफर्महरू बन्द गराएको हो।

प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार सट्टेबाजीसँग सम्बन्धित अवैध एप तथा वेबसाइटहरू पहिचान गरी इन्टरनेट सेवा प्रदायकलाई बन्द गर्न निर्देशन दिइएको थियो। हालसम्म सात हजारभन्दा बढी युआरएल र एप बन्द भइसकेका छन्। पछिल्लो एक सातामा मात्रै प्राधिकरणमा टेलिफोन, इमेल तथा सन्देशमार्फत ५० भन्दा बढी गुनासा प्राप्त भएका थिए, जसको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

मन्त्रिपरिषद्को चैत १३ गते बसेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ। सोही निर्णयअनुसार प्राधिकरणले विद्युतीय माध्यमबाट सञ्चालन भइरहेका यस्ता सबै पहिचान भएका प्लेटफर्म तत्काल बन्द गरेको हो।

मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्नु वा गराउनु गैरकानुनी हो। उक्त व्यवस्था उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ। त्यस्तै, विज्ञापनसम्बन्धी ऐन, २०६६ ले जुवा वा सट्टेबाजी प्रवर्द्धन गर्ने विज्ञापनलाई पनि निषेध गरेको छ।

सरकारले पुनः सर्वसाधारणलाई यस्ता अवैध एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गरेको छ। साथै, शङ्कास्पद प्लेटफर्मबारे जानकारी भए सम्बन्धित निकायमा सूचित गर्न र अवैध गतिविधिमा संलग्न पाइए कडा कारबाही हुने चेतावनी समेत दिएको छ।