गुल्मीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका-४ मिसुकामा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप दुर्घटना भएको हो ।

बोलेरो अचानक ब्रेक फेल भई स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा गुल्मीदरबार-४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेका छन् ।

उक्त दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा पुर्‍याई उपचार भइरहेको छ, जसमा ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, पम्फा ढेंगा, कुमारी पुन ढेंगा र मीना सनामी रहेका छन्। अन्य पाँच जनाको अवस्था भने मध्यम रहेको छ।

गम्भीर घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।