सम्पत्ति शुद्धीकरण प्रकरणमा लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरामा कार्यरत लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाउने, भ्रम सिर्जना गर्ने तथा स्वामित्व परिवर्तन गर्ने गतिविधिमा संलग्न रहेको निष्कर्षसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र पेश गरिएको हो।

आयोगका अनुसार भ्रष्टाचारमार्फत प्राप्त सम्पत्तिको वास्तविक स्रोत लुकाउन गरिने यस्ता कार्यहरू कानुनअनुसार दण्डनीय हुने भएकाले सम्बन्धित व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

अनुसन्धान क्रममा पौडेलले आफ्नो पदको दुरुपयोग गर्दै अवैध रूपमा आर्जन गरेको सम्पत्तिलाई वैध देखाउन विभिन्न व्यक्तिहरूसँग ऋण लिएको देखाउने कागजात तयार गरेको र बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरेको खुलेको छ।

आयोगका अनुसार उनले गैरकानुनी रूपमा आर्जन गरेको रकममध्ये २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले शुद्धीकरण गरेको पुष्टि भएको छ। सोही रकम बराबर बिगो कायम गरी कैद र जरिवानाको माग गरिएको छ भने थप १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्न पनि माग गरिएको छ।

यसअघि नै पौडेलविरुद्ध ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अर्को मुद्दा विचाराधीन अवस्थामा रहेको आयोगले जनाएको छ।

यस प्रकरणमा सहयोग गरेको आरोपमा हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोकाक्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको आयोगले स्पष्ट पारेको छ।

यस अघि पनि लेखा अधिकृत पौडेल र उनको श्रीमती हुमा कुमारी पौडेलबिरुद्ध अख्तियारले अकुत सम्पत्ति आर्जनको अभियोगमा बिशेष अदालत काठमान्डौमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

२०५४ साल माघ ८ गते सरकारी सेवा प्रवेश गरेका पौडेलको सम्पत्ति विवरण २०८० कात्तिक १० गतेसम्मको अध्ययन गर्दा स्रोत नखुलेको सम्पत्ति भेटिएको भन्दै पदीय हैसियत दुरुपयोग गरी ६ करोड २६ लाख ९३ हजार एकसय २९ रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अख्तियारले दाबी गरेको थियो ।

अख्तियारले गरेको अनुसन्धानका क्रममा पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी हुमा कुमारी पौडेलको नाममा राखेर सम्पत्ति विवरणमा उल्लेख नगरेको पाइएको थियो ।

 

सम्बन्धित खबर

सिफारिस