प्रशिक्षार्थी श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिने रोजगारदातालाई कारबाही गरिने

दियोपोस्ट संवाददाता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिमी (इन्टर्न प्रशिक्षार्थी) श्रमिकलाई कानुनअनुसार न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउन सबै रोजगारदातालाई आग्रह गरेको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (९) मा तालिमीको रूपमा काममा लगाइएका व्यक्तिलाई कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बीमा लगायतका सुविधा उपलब्ध गराउनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूबाट तोकिएको न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाएको भन्दै उजुरी तथा गुनासाहरू प्राप्त भएको मन्त्रालयले जनाएको छ । यस विषयमा मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

विज्ञप्तिमा श्रम ऐन तथा प्रचलित कानुनअनुसार उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सबै रोजगारदातालाई अनुरोध गरिएको छ। साथै, कानुनविपरीत श्रमिकलाई सुविधा नदिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।

मन्त्रालयले सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालाहरूलाई कानुनको स्वतःस्फूर्त पालना गर्न अपिल गरेको छ।