
लमजुङ । ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाले पूरक प्रारम्भिक वातावरणीय परीक्षण अन्तर्गत प्रभावित क्षेत्रका भौतिक तथा वातावरणीय असरबारे स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित यो आयोजना बेसीशहर नगरपालिका वडा नं.६ र १० तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ अन्तर्गत मर्स्याङ्दी नदीमा निर्माण भइरहेको छ। आइतबार मर्स्याङ्दी गाउँपालिका-८ को सिमलचौरमा आयोजित कार्यक्रममा स्थानीयवासी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी थिए भने बेसीशहर नगरपालिकाका नगरप्रमुख, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख, दुवै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन समूहका सदस्य, आयोजनाका प्राविधिक टोली र स्थानीय समुदायको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा केही व्यक्तिहरूले विरोध जनाउँदै अवरोध सिर्जना गर्न खोजे पनि स्थानीयवासीको सहयोगका कारण कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रममा कम्पनीका सञ्चालक मिलन खड्काले जलविद्युत् विकासले देशको समृद्धिमा टेवा पुग्ने उल्लेख गर्दै केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थका कारण विकासका काम अवरुद्ध गर्न खोजेको आरोप लगाए। उनले आयोजना क्षेत्रको भविष्यसँग जोडिएको भन्दै कुनै पनि अवरोधले यसको निर्माण प्रक्रिया रोकिने नसक्ने स्पष्ट पारे।
उनका अनुसार, दिव्यज्योती हाइड्रोपावर लिमिटेडको मुख्य प्रवर्द्धक अपि पावर कम्पनी लिमिटेड हो, जसले देशभरि विभिन्न जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ। साथै, भविष्यमा दिव्यज्योती हाइड्रोपावरलाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरी स्थानीयवासीलाई समेत सेयरधनी बनाउने योजना रहेको जानकारी दिइयो।
करिब १० अर्ब रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन २०७४ असोज १ गते स्वीकृत भइसकेको छ भने २०७५ भदौ १० गते विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भएको छ। आयोजना सम्पन्न भएपछि करिब साढे दुई वर्षभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।