भारतसहित ६ देशका राजदूत गर्ने सरकारको निर्णय

दियोपोस्ट संवाददाता  

काठमाडौं । सरकारले भारतसहित ६ देशका लागि नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को समेमबमर बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्री परिषदको बैठकपछि परराष्ट्र मन्त्रालयले उनीहरूलाई स्वदेश फर्किन निर्देशन दिएको स्रोतले जनाएको छ। फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा.पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर तथा दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।

यी सबै राजदूतहरू तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्तिका रूपमा पठाएका थिए। नयाँ सरकारले कूटनीतिक टोली पुनर्गठन गर्ने तयारीस्वरूप उनीहरूलाई फिर्ता बोलाएको बताइएको छ।

यस निर्णयसँगै भारत, अमेरिका, चीन लगायत विभिन्न देशमा रहेका कूटनीतिक नियोगहरूमा नेतृत्व अभाव देखिने अवस्था सिर्जना भएको छ। हालसम्म करिब १७ देशका नेपाली दूतावासहरू प्रमुखविहीन हुने अवस्था बनेको स्रोतले जनाएको छ।

नेपालमा सरकार परिवर्तनसँगै राजदूतहरू फेर्ने अभ्यास नयाँ भने होइन। पछिल्ला वर्षहरूमा प्रत्येक सरकार परिवर्तनपछि अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने र नयाँ नियुक्ति गर्ने परम्परा दोहोरिँदै आएको छ।

नयाँ सरकार गठनपछि परराष्ट्र नीतिमा समन्वय, विश्वास निर्माण तथा आफ्नो प्राथमिकताअनुसार कूटनीतिक प्रतिनिधित्व सुदृढ गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बुझिएको छ।

सिफारिस