रुपन्देहीमा गोली चल्यो, प्रतिबन्धित लागू-औषधसहित तीन जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । लागूऔषध ओसारपसार नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली प्रहार गरी दुई जनालाई नियन्त्रणमा लिएको छ। सोमबार साँझ रुपन्देहीको रोहिणी गाउँपालिका-४ कोटहवामा लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो भैरहवा र स्थानीय प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

सो क्षेत्रमा आकस्मिक चेकपोइन्ट स्थापना गरी लागु औषध कारोवारी रोहिणी गाउँपालिका-२ का बिशाल यादव, भारत महाराजगञ्ज जिल्लाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा कोटहवाबाट छिपागढतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकी जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार उनीहरू भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा मोटरसाइकल लडेको र त्यसपछि उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट एक जना प्रहरी घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पहिलो चरणमा एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी कृष्ण चन्दले जनाकारी दिए । चन्दका अनुसार उनीहरूले आक्रमण जारी राखी भाग्ने प्रयास गरेपछि प्रहरीले थप एक राउण्ड गोली प्रहार गरेको थियो, जसमा बिशाल यादवको बाँया खुट्टामा गोली लागेको छ। उनलाई तत्काल उपचारका लागि भीम अस्पताल भैरहवा पठाइएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रयोग गरिएको मोटरसाइकल चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध फेनरागन- ११०० एम्पुल, २ डाइजेपाम- ११०० एम्पुल र ब्रुफिन- ११०० एम्पुल बरामद भएको प्रहरीको भनाई छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।