काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नर पदमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो। यसअघि डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्रको कार्यकाल समाप्त भएपछि पद खाली रहेको थियो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा सरकारले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार गभर्नरले सिफारिस गरेका उम्मेदवारमध्येबाट पण्डितलाई चयन गरिएको हो।
नवनियुक्त डेपुटी गभर्नर पण्डित यसअघि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनले बैंक सुपरीवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, वित्तीय समावेशिता तथा उपभोक्ता संरक्षण लगायत विभिन्न महत्वपूर्ण विभागमा काम गरिसकेका छन्।
वि.सं. २०६२ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका पण्डितले लामो समय वित्तीय नियमन र नीतिगत क्षेत्रमा काम गर्दै आएका छन्। उनी केही समय राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा समेत रहेका थिए।
मन्त्रिपरिषद्ले पण्डितलाई पाँच वर्षे कार्यकालका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो। बाँकी रहेको अर्को डेपुटी गभर्नर पदमा भने पछि नियुक्ति गरिने जनाइएको छ।