
काठमाडौँ । महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ भने थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्।
जलेश्वर-बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका-५ स्थित बथनाहा गाउँमा आज विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकापसमा ठोक्किएका थिए। ठोक्किएलगत्तै दुवै मोटरसाइकलमा आगलागी हुँदा घटनास्थलमै तीन जना विद्यार्थीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
मृतक तथा घाइतेहरूको हालसम्म पहिचान खुल्न नसकेको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए।
दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।