उपसभामुख पदका लागि नेकपाको दाबी, अन्य दल पनि प्रतिस्पर्धामा

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया केही दिनभित्रै अघि बढ्ने भएको छ । सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भइसकेपछि अब संसद् सचिवालयले उपसभामुख चयनको तयारी थालेको हो ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । सोही प्रावधानअनुसार उपसभामुखको निर्वाचन चैत अन्त्यदेखि वैशाख पहिलो साता भित्रै हुने सम्भावना रहेको संसद् स्रोतले जनाएको छ । यद्यपि निर्वाचन मिति भने अझै औपचारिक रूपमा घोषणा गरिएको छैन ।

उपसभामुख पदमा भने बहुदलीय प्रतिस्पर्धा हुने देखिएको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपाले उक्त पदमा आफ्नो दाबी प्रस्तुत गरिसकेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने स्पष्ट पारेका हुन् ।

त्यस्तै, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उक्त पदमा दाबी प्रस्तुत गर्ने तयारी गरेका छन् । साना दलहरू समेत सत्ता समीकरणका आधारमा निर्णायक बन्न सक्ने भएकाले यसपटक उपसभामुख चयन रोचक प्रतिस्पर्धाबीच हुने देखिएको छ ।

उम्मेदवारको नाम भने अझै औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन । तर संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनैपर्ने भएकाले दलहरूले महिला सांसदलाई अघि सार्ने तयारी गरिरहेका छन् ।

संसद् सचिवालयका अनुसार निर्वाचनको मिति घोषणा भएपछि मात्र उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ । त्यसअघि दलहरूबीच सहमति वा प्रतिस्पर्धा भन्ने विषयमा छलफल जारी रहने बताइएको छ ।

यसबीच, उपसभामुख चयनले संसद् भित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने आंकलन गरिएको छ ।